Thursday, March 7, 2013

मेरो माओवादी दाई


एकछिनसम्म उज्यालो आमाको अनुहार एक्कासी अध्यारो भयो । आमालाई के भयो थाहा पाउनै गाह्रो भयो । घरमा मैले नचिनेको एकजना पाहुना आएका थिए । ती पाहुना आएदेखि नै आमाको अनुहारको चमक उडेको थियो कोही भित्र आउदा पनि तर्सेर हेर्नुहुन्थ्यो । आमालाई को हो भनेर पनि सोध्न सकिन । आमा हातमा चिया वोकेर त्यो नयाँ मान्छे बसेको ठाउँमा आउनु भयो । म पनि आमाको पछि लागेर गए । आमाले मैले नचिनेको मान्छेलाई चिया दिदै डराउदै त्यो मान्छेको ढाडमा हात राख्दै विस्तारै भन्नु भयो मेरो घरमा पनि माओवादी पस्यो ।
मलाई एकदमै डर लाग्यो । ला यो त माओवादी पो रैछ । अब के गर्ने होला । सध्रैँ भरी दिदीले स्कुलबाट आउदा आज हाम्रो स्कुलमा माओवादी आएर पढाई नै भएन भन्नु हुन्थ्यो , त्यतिबेला मलाई माओवादी हेर्न खुबै रहर लाग्थ्यो र रहर सँगसँगै डर पनि उत्तिकै लाग्थ्यो । तर आज आफ्नै अगाडि माओवादी देखेर डर लाग्यो । आमा त्यो माओवादीसँग कुरा गर्न लाग्नु भयो । अनि मलाई बाहिर गएर तल बाटो तिर हेर त नानी भन्नु भयो । मैले बुझिहाले कि आमाले पुलिस आएका छन् कि भनेर हेर्न पठाउनु भएको थियो ।
म पनि बाहिर गएर पुलिस आए कि भनेर हेर्न थाले । त्यतिकैमा बुवा आउनु भयो । अनि ढोका किन लगाएको भनेर सोध्नु भयो । मैले कान मै गएर खुसुक्क भने माओबादी आएका छन् के माओवादी । बुवाले के भन्छे यो भन्दै भित्र पस्नु भयो । मैले पनि देखिने सम्मको बाटोमा पुलिस हेरे र भित्र गए । त्यो माओवादीले बुवालाई दाई भन्दै खुट्टैमा ढोग्यो । अनि बल्ल मैले थाहा पाए त्यो मान्छे को रहेछ भनेर । आमा र बुवा डराएरै कुरा गर्नु भएको थियो । म घरि घरि बाहिर जादै आउदै गर्थे ।
आमाले धेरै बेर पछि दाईलाई नमस्ते गर नानी भन्नु भयो । मनमनै लाग्यो यस्तो माओवादीलाई पनि के को नमस्ते । अहिले मेरो घरमा माओवादी आयो भन्ने थाहा पायो भने पुलिसले देखाईदिन्छ नमस्ते जस्तो लाग्यो । मलाई नमस्ते गर्न मन लागेन र गरिन पनि । आमाले कर पनि गर्नु भएन ।
विस्तारै बुझ्दै जाँदा त्यो माओवादी दाई त मेरो आफन्त नै पर्ने रहेछन्, उनी त मेरो बुवाको मामाको र मेरी आमाको दिदीको छोरा मेरो आफ्नो दाई पो रहेछ । यो थाहा भए पछि मलाई मेरै दाई त रहेछ नी भनेर उसलाई माया गर्न थाले जसरी मैले मेरो घरको दाईलाई गर्थे ।त्यो दिन आएको माओवादी केटो विस्तारै मेरो दाईमा परिणत हुन लाग्यो । जति बेला त्यो मेरो माओवादी दाई हाम्रो गाँउमा आउथ्यो त्यतिबेला मेरा लागि चक्लेटहरु ल्याईदिएर हाम्रो घरमा आउथ्यो । अनि पहिलेको माओवादी केटो मेरो सबैभन्दा प्यारो र आफ्नो दाई भयो । म कुनै माओवादी देख्ने वित्तिकै विकल्प दाई कता हुनुहुन्छ भनेर सोधीहाल्थेँ ।
विस्तारै विस्तारै गाँउमा पुलिसको संख्या बढ्दै थियो भने माओवादी पनि पुलिसको आखा छलेर आईरहन्थेँ । घरदेखि पारि पट्टी पुलिस चौकी थियो । पुलिसहरु हाम्रो सानो बजारमा आई नै रहन्थेँ । त्यसैले पनि हामीलाई दाई आउदा एकदमै डर लाग्थ्योँ । एकदिन दाईले अर्काे एकजना दाईलाई पनि लिएर आउनु भयो । त्यसपछि हाम्रो घरमा माओवादीको आवत जावत बढ्न थाल्यो । कहिले राती बसेर जान्थेँ त कहिले एकदुई दिन बसेर जान्थेँ । टोल छिमेकमा कसैले थाहा पाउछ की भन्ने हामीलाई सधैँ डर हुन्थ्यो । त्यहि भएर दाई आउने वित्तिकै हामीले कुनै एउटा कोठामा दाईलाई राखेर बाहिरबाट ढोका लगाउथ्यौँ । संकटकालको समय थियो दाई खुसुक्क भित्र आउनु हुन्थ्यो भित्रै बस्नु हुन्थ्यो, खाना पनि त्यहि कोठा मै खानुहुन्थ्यो । अनि खै के के कुरा गर्नुहुन्थ्यो । हामी केटाकेटीलाई खासै भित्र जान दिईदैनथ्यो ।
धेरै दिन पछि दाई तिन जना अरु मान्छे लिएर आउनु भयो । बेलुका खाना खाईसके पछि बुवा आमासँग बसेर यताउतीका कुरा गर्न थाल्नु भयो । बर्षाको समय थियो बाहिर मुसलधारे पानी परिरहेको थियो । दाईले आफु त्यहाँ आउनुको कारण भन्न थाल्नु भयो । हामी अब यो चौकी आक्रमण गर्ने तयारीमा छौँ । त्यसैले सानीमा भोली विहान हामीसँग जंगल जानु पर्छ । हामी घाँस काट्ने निहु पारेर तपाईसँग जान्छौँ र त्यहाँको नक्सा बनाएर ल्याउछौँ । दाईले आफ्नो कुरा सक्न नपाउदै एक्कासी बुवा जंगिनु भयो हैन तैले हामीलाई मार्ने विचार गरेको छस् कि क्या हो । तँ तँ बुढा बाउ आमादाई छोडेर जंगल पसिस पसिस अब हाम्लाई पनि अप्ठ्यारोमा पार्न खोज्छस् जान्ने सानिमा भोली कतै जहाँ जानु छ तँ एक्ले जा । तँ त गैहाल्छस् हाम्लाई त हो नी गाह्रो हुने भन्दै बुवाले दाईलाई गाली गर्नु भयो । दाईले बुवालाई सम्झाउदै खै के के कुरा गर्नु भयो तर पनि बुवा भोली आमालाई पठाउन राजी हुनु भएन । मलाई पनि डर लाग्न थाल्यो केही गरी आमा जंगल जानु भयो भने र केही गरी पुलिसले थाहा पाए भने भनेर । तर आमा जान तयार हुनु भएन । दाईले बुवाआमालाई मनाउन सक्नु भएन । भोली विहान घरदेखि अलि पर गएर चौकी आक्रमणको लागि नक्सा तयार पार्नु भयो । अनि बेलुका बुवाआमालाई जतिबेला पनि आक्रमण हुन सक्छ आफ्नो ख्याल गर्नु होला भनेर म बाँचेँ भने फेरी आउछु नत्र यत्ति नै भयो भन्दै बुवा आमाको खुट्टामा ढोगेर जानु भयो ।
मेरो माओवादी दाई त्यो दिन हामीबाट विदा भएर गयो । हामी भने कहिले चौकीमा आक्रमण गर्ने हुन् भन्दै डराएर बस्न थाल्यौँ । दाई गएको तिनदिन पछि असुरक्षा धेरै भयो भनेर चौकी सदरमुकाममा स¥यो । चौकी सरेको एकहप्ता पछि विहान एक्कासी बन्दुकको आवाज आयो । मैले लुकेर कौशीमा चढेर चौकीमा हेरे । चौकीमा आगो पुत्ताईरहेको थियो । अनि माओवादी जिन्दावाद अनि अरु खै के के भन्दै नारा लगाईरहेका थिए । चौकीमा आगो लागिरहेकै बेला फेरी मेरो माओवादी दाई घर आयो । अनि बुवा आमालाई भेटेर गयो । जाने बेला मैले दाईलाई दाई पुलिस नभएको चौकीमा किन आगो लगाएको भनेर सोधेँ अनि दाईले हतारमै सिँह बस्ने गुफामा फेरी सिँह आएर बस्न सक्छ त्यहि भएर आगो लगाएको भन्दै हिड्यो । मैले केहि बुझनै सकिन । कराएर के भनेको भनेर सोध्दै थिए दाई गाडी चढ्दै नानी म फेरी आउछु र तिमीलाइृ सबै कुरा भन्छु भनेर गयो ।
त्यो दिन फेरी आउछु भनेर चौकीमा आगो लगाएर गएको मेरो दाई कहिले फर्केर आएन । मलाई कति साल त्यति याद छैन । फागुनको महिना सल्यानको सितलपाटीमा माओवादी र सरकार पक्षको ठुलो भिडन्त भयो । हामीले समाचारमा सुन्यौँ धेरै संख्यामा माओवादी हताहत रे । मलाई एकदमै डर लाग्यो । कतै मेरो दाई पनि... । बुवा आमा पनि डराउनु भयो । दाईले अन्तिम पटक आउदा अब एकदमै ठुलो लडाई हुदैछ के हुन्छ थाहा छैन । बाचिन्छ कि मरिन्छ भनेर भन्नु भएको थियो । योसँग दाईले मरिन्छ कि बाँचिन्छ भनेको दोश्रो पटक थियो । आमाले यस्तो भनेर गएको थियो के भयो भन्दै आत्तिन थाल्नु भयो । मलाई पनि एकदमै डर लाग्यो कतै मेरो दाई पनि... । मलाई कसरी थाहा पाउने दाईको बारेमा दाईलाई के भयो भन्नेकुरा कस्लाई सोध्ने भन्ने कुराले एकदमै पोल्न थाल्यो ।
पछि थाहा भयो मेरो माओवादी दाई, मलाई माया गर्ने दाई सल्यानको सितलपाटीमा देशको लागि आफ्नो बलिदानी गरेछ । थाहा पाउने वित्तिकै आमा दाईको घर(आफ्नी दिदीको घर) जाने हुनु भयो । म पनि आमाको पछि लागेर गए । त्यहाँको माहोल एकदमै छरपस्ट थियो । माओवादी कार्यकर्ताहरु समबेदना दिनको लागि घरमा आएका रहेछन् । एकातिर उनीहरु क्रान्तीकारी भाषण गरिरहेका थिए भने अर्काे तिर ठुलीआमा बेहोस हुनुहुन्थ्यो । हामी पुगेको अघिल्लो दिन मात्रै दाईले सहादत (माओवादीको भाषामा) प्राप्त गरेको खबर आएको रहेछ । ठुलीआमा त्यो खबर सुन्ने वित्तिकैबाट बेहोस हुनुभएको रहेछ । मलाई त्यहाँको वातावरण देखेर एकदमै नरमाईलो लाग्यो । मलाई एकदमै चिच्याएर रुन मन लाग्यो । दाईले भनेका हरेक कुराहरु दिमागमा चलचित्रको दृष्य जस्तै एकपछि अर्काे गर्दै आउन थाल्यो । सानै थिए, सानै मष्तिस्कमा ठुलै चोट पुग्यो । घरमा सबैजना रोईरहनु भएको थियो । त्यहाँ माओवादी कार्यकर्ताको भाषण र परिवारको रुवाई मात्रै थियो । उनीहरु विकल्प जि सहिद हुनुभयो यसमा तपाईहरुले गर्व गर्नुपर्छ भन्दै थिए तर हाम्रो घरको बत्ति निभेको थियो । एउटी आमाको काख रित्तिएको थियो, एउटी श्रीमतीको सिउदो उजाडिएको थियो । मेरो दाईको माया खोसिएको थियो ।
आखिर के पायो मेरो दाईले आफुलाई मारेर । न त आफुले केही पायो न त परिवारले केही पायो । एउटा छोरोलाई गुमायो परिवारले । त्यहि छोराकै परिले गर्दा ठुलोवुवाको मृत्यु भयो । आमालाई हरेक पल त्यहि कुराले झस्काईरहन्छ । हरेक समय रोएर वित्ने गर्छ देश परिवर्तन गर्छु भन्दै आफ्नो पढाई, घरपरिवार छोडेर जंगल पसेको मेरो दाई सल्यानको सितलपाटीबाट फर्केर आउनु भएको । सबैको ओठको हाँसो आफुसँगै लिएर जानु भयो । देशमा कति पटक राजनैतिक परिवर्तन भयो, कतिपटक सरकार परिवर्तन भयो तर त्यो घर जुन घरले आफ्नो साहारा गुमाएको थियो त्यहाँ कुनै परिवर्तन भएन । ती बुढी आमाको आँखा कहिले ओभाएन ।

No comments:

Post a Comment