Tuesday, December 25, 2012

उदाहरणीय व्यक्तित्व

केहि दिन अगाडि आमसञ्चार तथा पत्रकारीता पढाउने गुरुले एक जना उदाहरणीय व्यक्तिको बारेमा एउटा लेख लेखेर आउनु भन्नु भयो । त्यसको लागि समय एक हप्ताको थियो । मैले पनि को हुन सक्छ त त्यस्तो व्यक्ति भनेर आफुले जाने र चिने जतिको नाम सम्झिए पनि । झमककुमारी , अनुराधा कोईराला, नेपाली राजनीतिका केहि चलेको नेताहरु, पत्रकारहरु , अनि नेपालीको विद्यार्थी भएका कारण साहित्यकारहरु पनि सम्झिए राष्ट्रकवि माधवप्रसाद घिमीरे, भानुभक्त आचार्य,अनि कलाकारहरु पनि सम्झिए । तर मलाई कसैको बारेमा पनि लेख्न मन लागेन ।
मलाई एकदमै छोएको व्यक्तित्व अनुराधा र झमककुमारी हुनुहुन्थ्यो । त्यसमा पनि मलाई झमकको बारेमा लेख्न मन लाग्यो । भोली पल्ट कलेजमा गएर मैले मेरो कुरा सरलाई सुनाए र भने पनि सर मैले झमकको बारेमा केहि कुरा त लेखिपनि सकेँ । तर सरले आमसञ्चारमा नआएको केहि गरेर पनि सधैँ पर्दा पछायी रहनु भएको,। आम मान्छेले नचिनेको त्यसलाई तिमीहरुले खोजेर आमसञ्चारको माध्यमबाट अगाडि ल्याउनु पर्छ भन्नु पो भयो । अनि सरले झमकको उदाहरण दिदै उहाँलाई नचिन्ने मान्छे त कमै मात्र छ होला पनि भन्नु भयो । त्यसपछि मलाई त के गरौँ के गरौँ भयो । मैले जति मान्छे सोचेको थिए उहाँहरु त सबैजना मिडियामा छपक्कै छाईसक्नु भएको थियो । सरले भनेको कुरा पनि ठिकै हो । अब मेरै कुरा गर्ने हो भने पनि मैले झमकलाई बच्चैदेखि चिनेको थिए । उहाँको बारेमा सानै हुदा मुना बालपत्रिकामा पढेको पनि थिए । नेताहरुको त के कुरा गर्नु र उनीहरुको हरेक कुरा हरेक दिन मिडियामा आईरहेको हुन्छ । कलाकार, साहित्यकार पनि मिडियामा छाईनै रहेका हुन्छन् ।
मलाई एकदमै गाह्रो पर्यो दुईदिन सम्म त सोचेको सोच्यै भए तैपनि मलाई एकजना पनि दिमागमा आएन । अब सरले भनेको काम नगरौँ त्यति धेरै विद्यार्थीमा मै एउटा नराम्रो हुने हो की भन्ने डर पनि मनमा थियो उता त्यस्तो उदाहरणीय व्यक्तित्व नभेटिने हो की भन्ने अर्काे डर । अझ झन् ठुलो डर प्रयोगात्मक नम्बर नपाईने हो की भन्ने । म एकदमै तनावमा भए । को हुन सक्छ भनेर अझ कतिलाई त सोधे पनि तर सबै जनाले मैले जो जो व्यक्तिहरु सोचेको थिए उहाहरुको नै नाम लिनु भयो । अझ मलाई तिम्ले फरक तरिकाले लेखन पनि भन्नु भयो । तर जति फरक तरिकाले लेखे पनि त व्यक्ति त त्यै नै त हो जो पहिले नै चर्चामा आईसकेको छ । अनि मैले जे सुकै होस् लेख्दिन भनेर यत्तिकै बस्ने सोच्दै थिए त्यति नै बेला एकदिन अलि घोरिएर सोचेको त गज्जबको एकजना मान्छे भेट्टाए । जसले उदाहरणीय काम गरेका थिए । अनि लेख्न थाले सरले भने जस्तै गरेर ।
मेरा बा र आमाले हामी छोरा छोरीलाई हुर्काउन र बढाउन, पढाउन कत्रो दुख्ख गरे । आफुले खाईनखाई हाम्लाई खुवाए । हाम्रै लागि कति दुख्ख गरे । अझ मेरी आमा जस्ले हामी आधा दर्जन दाजुबहिनीलाई जन्म दिईन । कति गाह्रो भयो होला यतिका धेरैलाई जन्मदिन । यो चानचुने काम पनि थिएन । नौ नौ महिना गर्भ राखेर जन्म दिईन त्यो पनि एक जना होईन दुईजना होईन आधा आधा दर्जन । घरमा धेरै मान्छे भएको भए पनि सजिलो हुन्थ्यो होला बा र आमा मात्रै । यति धेरैलाई खुवाउनु चुठाउन कति समय खर्चिनु पर्थ्यो होला ? त्यसमाथि गाईबाख्र्राको काम पनि आफै गरिन होला । पुरुष प्रधान हाम्रो समाज बाले त पक्कै पनि गरेनन् होला । अझै पनि मलाई त्यस्तै लाग्छ बाले आमालाई सघाउदै सघाएनन् । हुन त बाले केहि गरेनन् भन्न खोजेको पनि होईन गरे धेरै नै गरे । र त आज म यहाँ सम्म आईपुगेकी छु । नभए त आज यो स्थानसम्म पक्कै पनि आईपुग्ने थिईन होला । पढाई लेखाईको कुरा त छदैछ त्यो बाहेक आफुले चाहेको काम गर्नको लागि उत्तिकै सहयोग पनि गरे ।
मेरी आमाले मेरालागि कति दुख गरिन त्यो त मैले यहाँ कसरी पो व्यक्त गर्न सक्छु र ? मेरा लागि त्यत्रो काम गर्ने मेरी आमालाई मिडियाले कहिले पनि त स्थान दिएको छैन नी । मलाई शिक्षा, दिक्षा, सभ्यता, संस्कार दिने मेरी आमा जत्तिको उदाहरणीय व्यक्तित्व मेरा लागि अरु को हुन सक्छ र ? मैले उनको बारेमा लेखिन भने कस्को बारेमा लेख्ने । फेरी मेरो गुरुले भन्नु भए जस्तै पनि त भयो नी । उदाहरणीय काम गरेको तर मिडियामा नआएको । मलाई मेरी आमाले संस्कार नदिएको भए, सभ्यताको पाठ नसिकाएको भए, आफ्नो परम्परा र संस्कृतिको बारेमा नभनेको भए आज मैले कसरी यो सबै कुराहरु जान्ने थिए र । बाहिर जस्तो भए पनि म आफ्नो परम्परा र संस्कारमा प्रतिवद्ध छु त्यो सब मेरी आमाको देन हो ।
काठमाडौमा मलाई दुख्दा उता मेरी आमा दुखेकी हुन्छिन , यता म हाँस्दा मसँगै उता हाँस्छिन । मेरो हेरक काम मा राम्रो र नराम्रो केलाउने गर्छिन । नानी तैले गरेको यो काम राम्रो छ यो नराम्रो छ भन्छिन् । सधै सत्मार्गमा हिड्नको लागि सचेत बनाउछिन् । कहिलेकाहि गालि पनि गर्छिन तर त्यो गालीमा सधैँ ममता,ममत्व लुकेको हुन्छ । तर यति धेरै राम्रो काम गर्ने मेरीआमालाई कहिले पनि मिडियाले स्थान दिएन । सधैँ ठुला ठुला कुरा गर्ने नेताहरुलाई मात्रै स्थान दियो मेरी आमा सधैँ पछाडि परिरहिन्, परिरहिन्, परिरहिन् कहिले पनि आफुलाई अरुको अगाडि प्रस्तुत गर्न सकिनन् । सधैँको चुलो चौको , घाँस दाउदा, गाईबाख्रा हेर्दा हेर्दै आफ्नो एकतिहाई उमेर खर्चिसकिन । कहिले पनि मलाई आज सञ्चो छैन भनिन्, कहिले पनि मलाई आज यो पुगेन भनिन् यो चाहिया ेत्यो चाहियो या यो भएन भनेर गुनासो गरिनन् । सधैँ तिमीहरुलाई केहि पुगेन की , सञ्चो छैन की, खाना खाइस् की खाईनस् भनिन् हरेक पल हरेक क्षण हाम्रै लागि सुर्ताईन ।
अब मैले मेरी आमा भन्दा अर्काे उदाहरणीय व्यक्तित्व अरु कस्लाई देख्न सक्छु होला त । अनि मैले गुरुको प्रतिक्रिया कस्तो आउछ वा मेरी आमा जतिको उदाहरणीय व्यक्तित्व मेरा लागि अरु कोही छैन भन्दा अरु कसैले के भन्ला भन्ने सोच्न छोडेर लेख्न थालेँ, अनि भने पनि संसारमा सबै भन्दा उदाहरणीय मान्छे मेरी आमा भनेर । थाहा छैन यो पढेर मलाई आमसञ्चार तथा पत्रकारीता पढाउने मेरा आदरणीय गुरुले मलाई के भन्नु हुन्छ स्यावासी दिनुहुन्छ या त बदमासको संज्ञा दिनु हुन्छ त्यो सबै उहाँकै हातको कुरा हो । तर पनि मेरी आमा उदाहरणीय नै हुन भन्न मलाई कुनै कुराले पनि छेक्ने छैन ।

1 comment:

  1. सबै का आमा आफ्ना सन्तान का लागि उदाहरणिय नै हुन्छन मिडिया ले स्थान दिएन भनेर चिन्ता नलिनु हजुर नि मिडिया कर्मि हो करे कतिका आमा लाई मिडियासामु पुर्याउनु भाको छ भने आफ्नि आमा लाई किन ...???

    ReplyDelete