Monday, November 28, 2016

बुहारीलाई किन औषधी गर्ने ?

दुई सन्तानकी आमा रेखा बस्नेत (नाम परिवर्तन) अहिले २१ बर्षकी भईन् । उनको घर दाङको धर्नामा हो । आफ्ना विभिन्न रहर र चाहानाहरु हुँदाहुँदै पनि उनले १४ बर्षकै उमेरमा बिहे गरिन् । बिहे गर्ने बेलामा उनका श्रीमानले पढाउँछु, लेखाउँछु भने तर बिहेपछि न त उनले किताब कापीको मुख देख्न पाईन न त स्कुलको नै । सानैमा बिहे गरेर धेरै नै पछुतो लागेको बताउने उनीले आफ्नो कथा यसरी सुनाईन् : 
म १४ बर्षको हुँदा बिहे भयो र त्यतीबेला म सात कक्षामा पढ्दै थिएँ । बिहे गर्ने बेलामा श्रीमान र घर परिवारले पढाउँछु, लेखाउँछु, तिमीलाई जे बन्न मन लागेको छ त्यसको लागि सहयोग गर्छु भन्नुभएको थियो । बच्चै थिए, बिहे गरेपछि त जे भन्यो त्यहि हुने रैछ भन्ने लाग्यो । मालि काम गरेर घरव्यवहार चलाउने बुवालाई थोरै भए पनि बोझ कम होला जस्तो लाग्यो ।
१४ बर्षको उमेरमा कति कुराहरु सोचिन्छ र ? उहाँहरुको कुरा सजिलै पत्याए र बिहे गरे तर बिहे अगाडि मलाई जे भन्नु भएको थियो त्यो सबै उल्टो भयो । मलाई स्कुल भर्ना गरिदिनु, म पढ्न चाहान्छु भन्दा उहाँहरुले मलाई अब तैँले पढेर के नै गर्छेस् र ? फेरी जेठाजु देवरहरु स्कुलमा हुन्छन्, उनिहरुसँगै बसेर पढ्न हुँदैन भनेर मलाई स्कुल जान दिनुभएन । मैले कतिपटक श्रीमानसँग मलाई पढ्न पठाउनुहोस् भने तर उहाँले पनि सासुले भने जस्तै पढ्नु पर्दैन भन्नुभयो र मलाई पढ्न दिनुभएन । पढेर लेक्चर बन्ने मेरो सपना अधुरो नै रह्यो ।
माईतीमा हुँदा खासै काम गर्नु परेको थिएन मैले तर बिहेपछि घरका सबै काम मेरो जिम्मामा आयो । घाँस काट्नु, गाईबाख्राको स्याहार गर्नु, खाना बनाउनु, खुवाउनु, घरको सबै काम गर्नुपर्‍यो। शुरुमा त मलाई एकदमै गाह्रो भयो । कति पटक बिरामी परे । बिरामी पर्दा पनि घरमा कसैले औषधी उपचारको लागि कुरा गर्नुभएन । उल्टै बुहारी बिरामी हुँदा पनि कसैले औषधी गर्छ भनेर भन्नुभयो ।
यति भनेर उनि एकछिन चुप लागिन, उनको आँखाबाट आँशु झरिरहेको थियो । मौन थिईन उनि । उनलाई हेर्दा लाग्थ्यो संसारमा सबैभन्दा दुखि उनि नै छिन् । मैले उनलाई सम्झाउने कोशिस गरेँ । रोईरहेकी उनलाई नरुन आग्रह गरेँ । तर उनको आँशु रोकिएन । उनलाई एकछिन रुन दिएँ । केहीबेर पछि उनि आँशु पुछ्दै बोल्न थालिन् ।
म १६ बर्षकी थिएँ जब मेरो ठुलो छोरा जन्मियो । त्यतिबेला मैले जति परिवार र श्रीमानको माया र स्याहार पाउनु पर्ने हो त्यो पाईन । सासुले जहिले पनि हाम्रा पालामा यस्तो गर्थिम, उस्तो गर्थिम तँलाई के को गाह्रो भनेर कराईरहनु हुन्थ्यो । सुत्केरी भएको केही समयपछि नै मैले फेरी घर र गोठको काम सम्हाले ।
यसैगरि दिन बित्दै थियो । गाँउका सबै दिदीबहिनी सिलाईकटाईको तालिम लिन थालेका थिए । पढेर लेक्चर बन्ने सपना अधुरै रहेपनि सिलाईकटाई सिकेरै आत्मनिर्भर बन्ने सोचले जबरजस्ती तालिम लिन गएँ तर पछि तालिमकै सिलसिलामा सदरमुकाम पनि जानु पर्ने भयो जुन कुरा मेरो लागि आकाशको फल आँखा तरि मर भने जस्तै भयो । सिलाइकटाईको तालिममा गएकै कारण मेरो चरित्रमाथि नै औंला समेत उठाइयो । म धेरै रोएँ, कराएँ, तर मेरो कुरा कसैले बुझेन । श्रीमानले नै त्यस्तो भने पछि मैले के गर्ने तपाई नै भन्नु न ?
उनले म माथि नै प्रश्न तेस्र्याईन । म अवाक् भए । के भन्ने, के सल्लाह दिने भन्ने अन्यौलमा परें । हिम्मत नहार्न भन्दै थिएँ तर उनि हिम्मत गर्दा गर्दै पनि पछाडी परिरहेकी थिईन, हरेक कोणबाट । अनि मैले अर्कैतिर कुरा मोडेर उनलाई सहज बनाउन खोज्दै गर्दा उनि आफैं फेरी बोल्न थालिन् ।
यदि मैले सानैमा बिहे नगरेको भए म अहिले पढेर मेरोे सपना पुरा गरिरहेकी हुन्थेँ होला । म कुनै कलेजमा पढाईरहेको हुन्थेँ होला । तर अहिले ति सबै कुराहरु मेरो सपना मै सिमीत छन् । सानैमा बिहे गर्दा मेरो पढाई, मेरो भविष्य, मेरो स्वास्थ्य सबै कुराहरु बिग्रियो । २१ बर्षकै उमेरमा विभिन्न किसिमका रोगहरुको सामना गर्नु परेको छ मैले । हुन त मेरै जस्तो नराम्रो सबैको हुन्छ भन्ने हुदैंन तर पनि मैले सानैमा बिहे गरेर एकदमै ठुलो गल्ति गरेकी छु । मिल्ने भए यो गल्ति ज्यान गए पनि दोहो¥याउन्न थेँ तर त्यो सम्भव छैन । सँगै पढेका साथीहरुलाई देख्दा आफुलाई सम्हाल्न एकदमै गाह्रो हुन्छ । उनिहरुले पढेर राम्रो काम गरेको देख्दा आफुलाई एकदमै हिनताबोध हुन्छ ।
यति भनिसकेपछि उनि मुसुक्क हाँसिन् र भनिन् यहि हो मेरो कथा । मलाई उनले आफ्नो कुराहरु सक्काईन जस्तो लाग्यो र अन्तिम प्रश्न सोधेँ, तपाई जस्तै अरु साथीहरु र किशोरकिशोरीलाई केही भन्नु हुन्छ ? त्यसपछि उनले लामो सास फेर्दै भनिन् ।
अब मेरो यति धेरै कुराहरु सुनिसकेपछि केही भन्नु पर्छ जस्तो लाग्दैन मलाई । बेलैमा बुद्धि नपुर्‍याएर सानैमा बिहे गर्दा मैले यति धेरै दुख पाएकी छु । आफ्ना हरेक सपना, चाहना र ईच्छालाई कहिले नपल्टिने पानामा बन्द गरेर राखेको छु । र पक्कै पनि मलाई सुन्ने र मेरो कुरा पढ्ने किशोरकिशोरीहरुले यहि गल्ति दोहोर्‍याउनु हुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले मैले अब यस्तो गर्नुस् नगर्नुस् भन्दा पनि उहाँहरु आफैले बुझ्ने कुरा हो । र उहाँहरुले बुझिसक्नु भएको छ ।
उनले यति भने पनि मलाई लाग्यो बर्षाैपछि उनले आफ्नो मनको कुरा कसै सामु पोख्न पाएकी हुन् । र सायद त्यसैले घरीघरी रुदैं बोल्ने उनी अहिले खुसी देखिएकी छिन् । उनको खुसीमा म पनि खुसी नभईरहन सकिन र उनिसँगै एकछिन हाँसेँ ।
उनको कथा सुनिसके पछि आफुलाई मनमनै भाग्यमानि ठानेँ । किनकी उनि जस्तो २१ बर्षको उमेरमा दुई सन्तानको आमा बन्नु परेको छैन । यति छिट्टै घरको सारा जिम्मेवारी उठाउनु परेको छैन । हरेक समय अरुको भरमा बाँच्नु, अरुको डरैडरमा बाँच्नु परेको छैन । र यति सानै शरिरमा विभिन्न रोगहरु पालेर बस्नु परेको छैन ।
उनि त एउटा प्रतिनिधी पात्र मात्र हुन नेपालमा परिवारको दबावमा या त रहरै रहरमा सानै उमेरमा बिहे गर्नेहरुको संख्या प्रशस्तै छ । उनिहरुले भोग्ने दुखहरु पनि धेरै नै छन् । सानैमा बिहे गर्दा शारिरीक र मानिसिक मात्रै नभएर आर्थिक रुपमा पनि किशोरकिशोरीहरु पछाडी परिरहेका हुन्छन् । त्यसैले बाल विवाह गर्नु कानुनी र सामाजिक रुपमा पनि नराम्रो कुरा हो त्यसैले यस्ता क्रियाकलापलाई रोक्नको लागि सबै एकजुट हुन आवश्यक छ ।

No comments:

Post a Comment