Friday, January 8, 2016

कहाँ छौँ तिमी ?

मैले त सोचेको पनि थिईन तिमी मलाई यसरी चटक्क छोडेर जान्छौँ भनेर । खै मैले विश्वास पनि कसरी गर्न सक्छु । तिम्लाई मैले कत्रो भरोसा गरेकी थिए.... । थाहै नदिइ घरमा कोही नभएको बेला मलाई एक्लै पारेर तिमीले जाने निधो गरिसकेको रहेछौँ । बेलुका साढे आठ बजेतिर विस्तारामा पल्टेर दिदीसँग फोनमा कुरा गर्दै थिए । म विरामी भएको र घरमा कोही नभएकाले गर्दा मेरो हेरचाह र खाना बनाएर खुवाउनको लागी पाटनमा बस्ने मेरो दिदीको छोरा (सागर) आएको थियो उसले खाना बनाउदै थियो त्यतिकैमा उसले मलाई बोलाउदै अन्टि उसले त साँच्चिकै तपाईलाई छोडेर जाने निर्णय गरेछ.... लाग्छ भोलि विहान या पर्सि त अवश्य उ तपाईलाई छोडेर जान्छ.... तपाई उसको भर परेर नबस्नु किनकी उस्ले तपाईलाई धोका दिदैछ.... ।
म उस्को कुरा सुनेर अवाक भए, के गरौँ र कसो गरौँ जस्तो भयो दिदीसँग कुरा गर्दागर्दै हातबाट मोवाईल खस्यो । अनि सोच्न थाँले उस्ले मलाई कसरी यति छिटो धोका दिन सक्छ...कसरी मलाई एक्लै छोडेर जान सक्छ.... म त यो सहरमा मात्रै उसको साहारामा बसेको छु । उ विना त म एक पल पनि वस्न सक्दिन... अरु त के कुरा म उ विना एक गिलास पानी पनि खान सक्दिन.... उ नै मेरो जिउने साहारा हो जीउने आधार हो । 
जब म मेरो जन्मघर छोडेर पढ्ने र केहि गर्ने उद्देश्य बोकेर काठमाडौँ आएको थिए त्यो दिन देखि नै म उसकै साहारामा बाँचेकी थिए । आजसम्म उसले मलाई कहिले पनि त्यसरी चटक्क छोडेर गएको थिएन । उसले मलाई सधैँ साथ दिईरहेको थियो । त्यसैले पनि मैले उ बाहेक अरु कसैलाई आफ्नो बनाउने चेष्टा गरिन किनकी म उस्लाई धेरै नै माया गर्थे अनि उसको निक्कै भर परेकी थिए । तर उसले दोवाटोमा ल्याएर यसरी छोडेर जादैछ । तिमीले जानु भन्दा अगाडि किन एकपटक पनि किन सोचेनौँ तिमी नहुदा विरामी भएर विस्तारामा लडेकी तिमीलाई माया गर्ने मान्छेको हालत कस्तो होला भनेर... हुन त सोचेर पनि के नै गर्न सक्थ्यौँ र तिम्लाई जानु नै थियो र जान लाग्दै पनि छौँ... । अव म तिमी फर्केर नआउदासम्म तिम्रै यादमा, तिम्लाई सम्झेर नै बस्ने छु । म तिमी बाहेक अर्को बिकल्प पनि रोज्न सक्दिन किनकी तिमीले त यत्रो बर्षको साथ छोडेर जान लाग्दैछौँ भने म अरुको त कसरी भर पर्न सक्छु र ? फेरी तिमीलाई थाहै छ तिम्रो स्थान अरु कसैले लिन पनि त सक्दैन नी ...
म सुतिरहेकै बेला उसको बारेमा यति धेरै कुराहरु सोच्न पुगे सागरले मलाई धेरै पल्ट बोलाएको रहेछ खाना खानलाई अन्टि उठ्नुस् खाना पाक्यो .... तर मलाई खाना खान त के हेर्न पनि मन छैन... आज एकदिन खाना खाए र के गर्नु भोलि उस्ले मलाई छोडेर गयो भने म खाना बनाएर खान कसरी सक्छु । बाबु तँ खाना खादै गर मलाई खान मनै छैन । सागर मलाई कर गर्दै थियो तपाई पनि के भएको होला म जसरी पनि तपाईको समस्या समाधान गरिहाल्छु नि... खाना त खानु । तपाईले खानु भएन भने म पनि खान्न... उसले छोडेर गए के भयो त उ बिना पनि जीन्दगी जीउन सिकौँला नी किन पिर गर्नुहुन्छ आखिर त्यै मात्रै पनि त छैन अरु पनि त थुप्रै छन् नी.... विरामी भएको बेला यसरी चिन्ता गरेर बस्नु भयो भने झन् गाह्रो हुन्छ । यत्तिका समय साथ दिएको को त कुनै भरोसा छैन अरु नयाँ को त कसरी भर पर्नु र । मलाई यत्तिकै भाउन्न होला जस्तो भएर आयो म कसैको कुरा सुन्न सकिन सागरलाई बाबु तँ खाना खादै गर है म पछि खान्छु भनेर एकोहोरो उस्लाई हेरेर बसिरहेँ । किनकिन आज उस्लाई मात्रै हेर्न मन लाग्यो हेरिरहेँ हेरिरहेँ.... तर उस्को कुनै प्रतिक्रया पाईन उ मुर्ति जस्तै ठमठमाएर जहाँको त्यहि बसिरहेको  थियो । एक मनले त उसलाई घाँटी सुक्ने गरी कराएर गाली गरौँ जस्तो लाग्यो फेरी कराएर पनि के गर्नु म जति नै कराए पनि उसको निर्णय बद्लिने वाला थिएन अनि कसैले बदल्न सक्ने वाला पनि थिएन किनकी उ एकदमै जिद्धी स्वभावको थियो ।
मैले त सोचेको थिए उस्ले मलाई घुर्कि मात्रै लगाएको हो तर ...तर.... । आज विहानै उठेर दुध तताउदै थिए त्यतिकैमा उस्ले मलाई साच्चिकै नै छोडेर गयो । अब म उसको वियोगमा कसरी बाच्न सक्छु, कसरी खान सक्छु थाहा छैन । यतै कतै छ की भनेर खोज्न पनि हिडेँ मलाई घुर्कि लाउदै उ कतै यतै पो छ की जस्तो लागेको थियो । मनको कतै कुनामा उ भेटिन्छ की जस्तो पनि लागेको थियो तर उ कतै भेटिएन.... आखिर मलाई एक्लै बनाएर तिमी कहाँ गयौँ ... किन यसरी एक्लै खानु न पिउनु बनाएर मलाई तड्पाउछौँ । घरमा अरु कोही भएको भए पनि म उनीहरुलाई हेरेर मन बुझाउने थिए तर त्यो पनि बाकी रहेन यो एक्लो पनलाई अलि शान्त बनाउन म यो कुरा लेखिरहेकी छु । यो सब तिम्रै लागि हो अरु कसैको लागि होईन मत्रै तिम्रो लागि ... नसोधुँ भने पनि फेरी सोध्न मन लाग्छ तिमी कहाँ छौँ अनि तिमी कहिले आउछौँ ... म तिम्लाई खोज्न कहाँ कहाँ गईन सम्भावित सम्पूर्ण ठाउँमा पुगिसके अनि सोधिसके उ यहाँ छ की भनेर .... सबैको एउटै उत्तर छ अहिलेसम्म त आएको छैन नाम लेखेर नम्बर छोडिदिनु बैनी आयो भने खवर गछौँ ... सबैको एउटै उत्तर सुनेर म हैरान भैसके तर तिम्लाई भेटाउन सकेकी छैन.... आशा छ तिम्ले मलाई यसरी चटक्क छोडेर जादैनौँ अवश्य एक दिन मेरो घरमा रोशनी लिएर आउने छौँ । त्यो दिन म खुसीले फुरुङ्ग हुदै तिम्लाई हेरेर पेटभरी खाना खाने छु । अन्तिममा फेरी पनि सोध्छु तिमी कहाँ छौँ खाना पकाउने ग्यास ?

No comments:

Post a Comment