Tuesday, May 26, 2015

भगवान नसम्झेको दिन

दिन बिताउन एकदमै मुस्किल थियो । झण्डै एक महिना हुन लागेको थियो घरमै बस्न थालेको । वाक्क दिक्क लाग्थ्यो घरमा बस्दा । कोही हुदैनथ्यो, सबै आ–आफ्नै काममा व्यस्त बिरामी कुरेर बस्ने फुर्सद कस्लाई थियो र ?
शनिबारको दिन म दंग परेकी थिए । किनकी त्यो दिन सबै जना घरमै हुन्थे र थोरै भएपनि मसँग समय विताउथेँ ।बिहानैदेखि अन्टि(आमो बहिनी)सँग थिए । बिहानको मौसम देख्दा लाग्थ्यो दशै आउन लागेको छ । चिसो चिसो मौसमले दशैंको याद दिलाईरहेको थियो । दशैंको याद दिलाउने रमाईलो मौसम भए पनि किन किन रमाईलो भने लागेको थिएन । अनौठो महसुस भैरहेको थियो । किन किन घरि घरि मन यसै यसै चिसो चिसो भैरहेको थियो । तर पनि घरमा सबैजनासँगै हुने कुराको रमाईलोले मनको चिसो मेटाईरहेको थियो ।
बिहान करिव सँवा एघार बजे तिर सबैसँगै बसेर खाना खायौँ । म धेरै तलमाथि गर्न नसक्ने हुनाले भान्छा नजिकैको कोठामा गएर बेडमा पल्टिए, अन्टि पनि त्यहि आएर सोफामा बस्नु भयो । जीसिनेमामा प्रिती जिन्टाको फिल्म आईरहेको थियो । हामी दुबै जनालाई मन पर्ने हिरोईन भएकोले एकछिन त्यहि फिल्म हेर्न थाल्यौँ । फिल्म हेर्दै अन्टि र म कुरा गर्दैथियौँ । केटाकेटीहरु बाहिर कौशीमा खेल्दै थिए । मैले सोचे जस्तै, खोजे जस्तै शनिबार बित्दै थियो । रमाईलो भैरहेको थियो ।
म खाटमा पल्टिरहेकी थिए, अन्टि सोफामा बसिरहनु भएको थियो । पछाडिबाट कसैले धकेले जस्तो, हल्लाए जस्तो भयो, मलाई के भयो थाहा छैन । तर सोफामा आरामले बस्नु भएकी अन्टि एक्कासी कराउनु भयो नानी उठ भुईचालो आयो जस्तो छ । अन्टि त्यति भनि नसक्दा कोठाबाट बाहिर पुगिसक्नु भएको थियो । म सुतेको ठाँउबाट उठ्न खोजे, तर सकिन, बेसरी पछारिए, फेरी उठ्ने प्रयास गरे तर फेरी सकिन । आँखा तिरिमिरि भयो, कोठा घुमेको थियो । धेरै कोशिस गरेर बल्ल बल्ल उठेँ । टिभीमा प्रिती जिन्टा पनि झ्यार्रररर गर्दै थिईन ।
मलाई अब थाहा भैसकेको थियो कि ठुलै भुकम्प आईरहेको छ भनेर । बल्ल बल्ल उठेर उभिए, उभिए त के खुट्टाले राम्ररी भुई टेकेको थिएन, फेरी पछारिए, एक त बिरामी मान्छे त्यसमाथी भुकम्पले झन् उठ्न नसक्ने बनाईरहेको थियो । तिन पटक प्रयास गर्दा बल्ल बल्ल उठ्न र उभिन सके । तर पनि आफुलाई सिधा उभ्याउने प्रयास गरिरहेकी थिए । सोचे यस्तो बेलामा बत्तिहरुको स्वीच अफ गर्नु पर्छ । टिभी बन्द गर्न खोजे तर टिभी त अर्कै साईडमा पो रैछ (पछि थाहा पाए) जहाँ मैले हल्लाउन थालेपछि देखेकि थिए त्यहाँ टिभी थिएन ।
लड्दै लड्दै ढोका खोलेर बाहिर निस्किन खोजे, ढोका खोल्न खोल्दा ढ्याम्म बन्द भयो ।हिम्मत हारिन फेरी खोले । बल्ल तल्ल खोलियो । बाहिर निस्के । अन्टि सानो भाईलाई तान्दै लगेजस्तो धमिलो धमिलो देखे । बुवा९ अन्टिको ससुरा० पनि आत्तिदै तल झर्दै हुनुहुन्थ्यो । त्यो पनि मेरो आखाँले एकदमै धमिलो देख्यो । म एकदमै आत्तिए अब कस्लाई समाएर बसुँ म, यसै त राम्ररी उभिन सक्दिनथेँ त्यसमाथि भुकम्पले हल्लाईरेको थियो । यसो धमिलिएका आँखाले हेरेँ दाई सानो भाईलाई खोज्दै थियो । लरखरिदै गएर दाईलाई च्याप्प समाते । घरका सबै जना तल गैसकेका थिए ।
घर यति जोडले हल्लिएको थियो, घरसँगै दाई र म हल्लिदै थियौँ, जसरी दशैमा मेरो गाँउमा पहिलो पटक हालेको पिंग हल्लिएको थियो । दाई र म एकअर्काको अंगालोमा बेरिएका थियौँ । चाहेर पनि त्यो अंगालो कसैले छुटाउन सक्दैनथ्यो । एउटा हातले मलाई बेसरी बेरेको दाईको अर्को हातले घरको पिल्लर समातेको थियो । म एकोहोरो दाई....दाई...भनिरहेकी थिए । यो के भैरहेको छ सोधीरहेकी थिए । कति धेरै बेर हल्लेको भनिरहेकी थिए । म एकदमै आत्तिरहेकी थिए । हुन त म मात्रै किन सारा देश अतालिईरहेको थियो । जताततै त्रास थियो ।
घर हल्लिन केही कम भएकै थिएन । दाई मलाई सान्तवना दिन्थ्यो, भन्थ्यो नआत्ति नानी केही हुदैँन, केही हुदैँन । तर दाईको स्वर एकदमै आत्तिएको थियो, उसको अनुहारमा त्यस्तो डर कहिले देखेको थिईन मैले । र पनि उसले आफ्नो डरलाई एकातिर पन्छाएर अभिभावकत्व निभाउदै थियो । दाईलाई पनि आफ्नो ज्यान बचाउन कुदेर तल पुग्न मन थियो होला खुला ठाँउमा पुगेर बाचियो अब भनेर सन्तोषको सास फेर्न मन थियो होला । तर कसरी जाओस् तल, कसरी फेरोस सन्तोषको सास । अप्रेशन गरेकी बहिनी खुट्टा टेक्न नसकेर उसकै अंगालोमा रोईरहेकी थिई । भन्दै थिई के भयो दाई, किन यस्तो भैरहेको छ भनेर । सायद म नभएको भए पनि दाई अलिअलि घर हल्लिने बित्तिकै आफु भागिहाल्थ्यो होला । तर के गरोस् मलाई छोड्न सकेन ।
घर निकै बेर हल्लियो । थामिने सुरसारै गरेन । जीवनको अन्तिम क्षणमा सम्झिन खोजे बुवा आमालाई, सम्झिन खोजे दिदीहरु र घरमा हुनु भएको दाईलाई सम्झिन खोजे तर अहँ कसैको स्मृति आएन दिमागमा । त न आए दुःखको बेला सम्झिने भगवान । दिमाग भुकम्लेप घुमाएको घर जस्तै घुमिरह्यो । छोडेन घुमाउन । दाई र मसँगै मर्ने भयौँ भन्ने लाग्यो । जीवन यत्ति नै रहेछ जस्तो लाग्न थाल्यो । दाईको छातीमा लुटपुटिएकी म यसो टाउको उठाएर हेरेँ झन् भाउन्न भएर आयो । अन्टिको घर पछाडिको अठार तल्लेको दुईवटा भाग एउटा उता एउटा यता गर्दैथियो । त्यो देख्दा बाँच्ने आशा हराएर गयो । मृत्यु खतरनाक र भयावह हुने रैछ भन्ने लाग्यो । यहि नै अन्तिम रहेछ भन्ने लागिरह्यो तर पनि परिवार सम्झिन सकिन । सम्झिनु पनि कसरी आफ्नै जीवन मृत्यु पर्खेर बसिरहेको थियो । कति बेला के हुन्छ थाहा थिएन ।

केही बेरपछि हल्लिन अलि कम भएपछि दाई र म तल झर्न थाल्यौँ तर मेरो खुट्टा चल्दै चलेन । टेक्नै मिलेन खुट्टा बिस दिन अघि अप्रेशन गरेको घाउ बेसरी दुख्न थाल्यो । सायद अप्रेशनको समयमा पनि त्यति दुखेको थिएन, सास फेर्न अप्ठ्यारो भैरहेको थियो । तर पनि तल त झर्नै थियो नै फेरी आउन सक्ने अर्को कम्पनबाट बचाउनै थियो । दाईले बिस्तारै बिस्तारै तल ल्याईपुर्यायो । टोलभरिका सबै मान्छेहरु जम्मा भैसेका थिए । कोही कपडा लगाउदै, कोही खाँदाखाँदैको जुठो हात लिएर आएका थिए, कोही बच्चा च्यापेर, कोही बुढाबुढीलाई तान्दै खुला ठाउ खोज्दै आएका थिए । तर बस्ने, बच्ने खुला ठाँउ कति नै थियो र तर पनि सबै आफुलाई बचाउने प्रयास गरिरहेका थिए ।

खै!कति मिनेट या सेकेण्ड जमिन हल्लियो थाहा छैन र थाहा पाउन पनि मन लागेन । तर मलाई घण्टौँ हल्लिरहेको फिल भएको थियो । अप्रेशन गरेको घाउ भुकम्पले चर्किएर नेपाली माटो दुखे जस्तै दुख्दै थियो । सबै जनाको हतास, त्रसित अनुहार हेर्दा लाग्दैथियो सबै जना यमराजसँगको युद्ध जितेर पृथ्वीमा फर्किएका छन् । युद्ध जितेर फर्केको सिपाई खुसी हुन्छ तर त्यहाँ कोही खुसी थिएन । सबैका आँखामा त्रास थियो ।
भुकम्प रोकिदै आँउदै थियो । एक्कासी फोनमा घण्टि बज्यो । हातमा फोन रहेछ, त्यो पनि याद थिएन । सपना र विपना छुट्याउन सकेकी थिइन । यसो फोनको स्कृन हेरे, लेखिएको थियो आमाजी । आमाको फोन रहेछ । हतार हतार फोन उठाए । आमाको हतासिएको आवाजले छोराछोरीलाई केही नभएको होस् भन्ने सुन्न चाहेको प्रष्टै थियो । रुन्चे स्वरलाई सकेसम्म बलियो पार्दै यत्ति भन्न सके आमा हामी सबै ठिक छौँ, दाई पनि ठिक छ, यहाँ अझैँ भुईचालो आईरहेको छ । त्यसपछि बोली बन्द भयो, आमाको हिक्क हिक्क कानमा प्रष्ट थियो तर म फेरी बोल्न सकिन, बोली लरबरायो, फेरी भन्न सकिन आमा म ठिक छु, दाई पनि ठिक छ, हामी सबै ठिक छौँ ।
यो पनि  http://meroreport.net/xn/detail/6365517%3ABlogPost%3A121786

No comments:

Post a Comment