Wednesday, February 11, 2015

बाल्यकालका प्रेम लहर

सबैजना प्रणय दिवसको कुरा गर्दैछन् । कसैले प्रस्ताव कसरी राख्ने, कसरी आफ्नो मनको कुरा भन्ने भनेर सोच्दै र योजना बनाउदै छन् त कसैले आफ्नीरआफ्नो मायालुलाई के उपहार दिने, आफ्नो प्रेम सम्बन्धलाई अझ मजबुद बनाउने भनेर सोच्दैछन् । सबैलाई प्रणय दिवसको चटारो भए पनि मलाई भने यो दिवसले कहिले पनि छोएन र सायद छुदैंन पनि होला । तर प्रणय दिवसकै समयमा मलाई भने बाल्यकालका केही प्रेम प्रसंगहरु कोट्याउन मन लाग्यो । जुन प्रेम प्रसंगमा म अप्रत्यक्ष रुपमा संलग्न थिए ।
आठ कक्षाको जिल्ला स्तरीय परिक्षामा पास भएर नौं कक्षाको पढाई सुरु हुने समय । पासको भएको खुसीमा रमाउन नपाउदै घरमा एकदमै ठुलो बज्रपात पर्यो । एकदमै माया गर्ने, परिवारको आखाँको नानी, हरेक सुख दुखमा एकदमै सहयोग गर्ने आदरणीय भान्जादाई स्वर्गे हुनुभयो । फुपुको घर, मेरो घरदेखि एक मिनेटको दुरीमा-घरभरी पाहुना थिए । भान्जि भाउजुको माईतीबाट सबैजना आउनु भएको थियो । त्यहि भिडमा थियो उ पनि । उ अर्थात् भान्जि भाउजुको दाईको छोरा । १३ औँ दिनको काम सकिएपछि सबै आफन्तहरु बिस्तारै बिस्तारै आफ्नो घर जानु भयो । त्यो सँगसँगै उ पनि घर गयो । सबै कुराहरु बिर्सिएर म नौं कक्षामा पढ्न थाले ।
झण्डै एकमहिना पछि स्कुलबाट फर्किदै गर्दा भान्जादाईको छोराले बोलायो । नानी यहाँ आईजा त तलाई चिठ्ठी आएको छ । म-चिठी ?! कस्ले पठायो मलाई भन्दै !? गए । बाहिर भान्जादाईको छोराको नाम लेखेको खाम, त्यो भित्र मेरो नाम लेखिएको एकदमै कडा सुरक्षा सहितको खाम । त्यो चिठी लिएर घर गए । घरमा कोही थिएन । खाम खोले, हेरे भित्र ठुलोखाम भरीको चक्लेट र एउटा कागजको पाना । चक्लेट थन्काएर कागजको पानामा आखाँ दौडाए, ओहो कति धेरै साहित्य, बुझेको भए मरिजाउ ।
मलाई अझैँ पनि याद छ त्यो कागजमा लेखिएको कुरा “जुन दिन तिमीलाई देखे त्यो दिनदेखि मैले आफुलाई बिर्से, तिमीलाई देखेपछि मेरो मनमा प्रेमको बिजारोपण भयो । लाग्यो भगवानले तिमीलाई मेरै लागि बनाईदिएको हो । म तिमीविना बाँच्न सक्दिन । यो कागजको टुक्रामा चिठी हैन तिमीलाई माया गर्ने मुटु पठाएको छु, सम्हालेर राख्नु।" आदि ईत्यादि । नौं कक्षामा पढ्ने फुच्चीले यस्तो साहित्य कता बुझ्नु । एकदमै डर लाग्यो । त्यो चिठ्ठी कसलाई देखाउ, के गरौँ भयो । सम्झे दिदी जसलाई हामी सबैकुरा निर्धक्क भन्थ्यौँ । दिदी आउने बित्तिकै चिठी देखाँउछु भनेर चिठ्ठीलाई भित्तामा टाँसेको पोस्टरको पछाडि लुकाए । अनि चकलेट लगेर हतार हतार ट्वाईलेटमा फालिदिए । 
मिनेट बित्यो, घण्टा बित्यो, दिन बित्यो, महिना बित्यो अँह दिदीलाई त्यो चिठ्ठी दिदीलाई देखाउनै सकिन र भन्न पनि सकिन फलानो केटाले मलाई यस्तो चिठी पठायो भनेर । तिन चार महिनापछि घरमा कोही नभएको मौका पारेर खुसुक्क आगोमा जलाईदिए । अनि ढुक्कको सास फेरेँ ।
तिहारको रमझम थियो । स्कुल बिदा, घरमा दिदीहरु सबैजना आउनु भएको थियो । दाईहरु क्लबबाट खेल्ने भैलोको तयारी गर्दै हुनुहुन्थ्यो । कहिलेकाँही म पनि जान्थेँ । मेरो सानो दाई मारुनी भएर नाँच्थ्यो । घरमा माहोल नै बेग्लै थियो । भैलो खेल्ने दिन आयो, सबैजना रमाउदै, उफ्रिदै, भैलो खेल्न जान लागे । मेरो मन पनि चंगासरी उडिरहेको थियो दाई र दिदीसँगै भैलो खेल्न र रमाईलो गर्न जानलाई । आमालाई सोधेको आज हैन भोली जाउ भन्नुभयो ।
भोली म पनि देउसी भैलोको लागि क्लबले बनाएको लुगा गुन्यु चोली लगाएर तयार भए । सानी सानी फुच्ची म गुन्यु चोलीमा चिटिक्क देखिए, ठुली दिदीले भन्नुहुन्थ्यो साह्रै राम्री भएकी थिए रे म । फुरुंग थिए म । दिनभरी भैलो खेलेर बेलुका घर फर्किदै गर्दा । भाउजुको भाईले ९ठुलो बुवाको बुहारीको भाई० काम छ भनेर बोलाउनुभयो । म गएपछि उहाँले मेरै स्कुलमा पढ्ने मेरै गाँउको केटाको बारेमा कुरा गर्न थाल्नुभयो । मैले केही बुझिन अनि सोधेँ उसको कुरा मलाई किन सुनाउनु भएको भनेर । त्यसपछि त्यो केटाले मलाई मनपराउने र मसँग विहे गर्न नपाए मर्छु भनेर घरमा झगडा गर्ने गरेको कुरा गराउनु भयो । म झसंग भए, त्यो केटालाई हेर्न खोजेको मुटु ढुकढुक भएर आयो, आँखा उठाएर हेर्न पनि सकिन । अनि केही नबोली चुपचाप दाई भएको तिर गए । रातभरी डरले मुटु कापिरह्यो । कसैलाई केही भनिन् ।
तिहारको दिन पनि भाउजुको भाई आएर मलाई सोधेको सोधेयै गर्न थाल्नुभयो । यसै पनि मलाई रिस उठिरहेको थियो त्यसमाथि तिहारको दिन नचाहिने कुराले टाउको दुखाउदा एकदमै रिस उठ्यो । अनि रिसै रिसमा भन्दे मरे मरोस् मलाई के मतलव । तपाई तिहारका दिदीको हातका टिका लाउन आउनु भाको कि लमी बन्न भनेर कराईदिए । त्यसपछि भाउजुको भाई बोल्दै नबोली जानु भयो । पछि सुने त्यो केटाले मर्छु भन्दै खै के के खाएर घरमा बेस्सरी उपद्रो मच्चाएछ ।
केही महिना अगाडि अचानक अनामनगरमा उसँग भेट भयो । बाटोमा एक्कासी भेटीएको मान्छेसँग नबोली हिड्नु पनि भएन । घरमा भेट हुँदा त म एक शब्द बोल्दिनथेँ । तर यहाँ भेटेपछि राम्रै बोले । र पुरानो कुराहरु गरेँ । किन त्यस्तो नाटक गरेको भनेर सोधेँ । उ एकदमै मौन बस्यो । एक घण्टाको बसाईमा उ रोएरै वितायो । उ रोए पनि मलाई भने त्यो बेला भन्नु पर्ने कुराहरु भन्न पाएकोमा आनन्द महशुस भयो ।
नौ कक्षामा नै पढ्दा हो । ब्रेक सकिनै लागेको थियो । एकजना साथीले पुस्तकालय पछाडि बोलायो । किन रैछ भनेर गए । उ मेरो मिल्ने साथी थियो । जाने बित्तिकै के भयो भने अहिले कक्षा सुरु हुन्छ भने । उसले मलाई पुरा जेरी घुमाए जसरी कुरा घुमाउदै गर्न थाल्यो । फलानो यस्तो छ उस्तो छ, किन त्यसरी त्यसको कुरा गर्दैछ मैले बुझ्दै बुझिन । सायद उ मेरो मिल्ने साथी भएर होला सिधा सिधा कुरा गर्न गाह्रो मानेको । जति कर गर्दा पनि उसले कुरा घुमाउन छोडेन । झनक्क रिस उठ्यो । अनि भन्ने भए भन नत्र म कक्षामा गए । सर जानुहुन्छ अब भनेर हिड्न लाग्दा उसले भन्यो । ९उसको नाम लिएर० तिम्लाई मन पराउछ रे । अस्ती नै देखि भन्दे भनिराको थियो त्यहि भएर भन्देको नरिसाउ है । उ के के बरबर गर्दै थियो मैले केही सुनिन् । मलाई अझैँ पनि याद छ मैले मेरो साथीलाई फिल्ममा जस्तै, तिम्लाई त म पछि हेर्छु भन्दै कुद्दै कक्षामा गए ।
कक्षामा भर्खरै हरि सर भित्र पस्नु भएको थियो । म कक्षाको एकदमै ज्ञानी र ईमान्दार विद्यार्थी सरहरुको अनुमति बिना केही नगर्ने । मलाई सर भित्र भएको नभएको वास्तै भएन । आँखाले त्यहि केटालाई खोजिरहेको थियो । सेकेण्ड लास्ट बेञ्चमा बस्थ्यो उ जहिले । सरासर त्यहि गए अनि गालामा झ्याम झ्याम दिन थाले । सबै साथीहरु र सर छक्क पर्नु भयो । अगाडि बस्नु भएको सर पछाडि आएर मलाई छुट्याउन खोज्नु भयो । तर अहँ मेरो रिस मरेकै थिएन । मैले उसलाई थप्पड हान्न छोडीन । उ Sorry भन्दै थियो । थुप्रै झापड हानेपछि उ ब्याग बोकेर रुदैँ कक्षाबाट बाहिरियो । म चुपचाप आफ्नो बेञ्चमा गएर बसेँ । घर जाँदा कहिलेकाँहि उस्लाई देख्यो भने त्यहि झापड हानेको र उ रुदैँ कक्षाबाट निस्केको याद आउँछ । ग्लानी पनि हुन्छ सबैको अगाडि त्यसरी पिट्नु नहुने जस्तो लाग्छ ।
एसएलसी पछिको खाली समय । गर्मी याम । घरमा कोही थिएन आमा मिलमा जानु भएको थियो । दाईको छोरी र म भर्खर फूल झरेको काँचो आँप र नुन खुर्सानी खादैँ थियौँ । त्यत्तिकैमा आमा आउनुभयो । अनि मलाई तिम्रो साथीले बोलाएको छ मिलमा जाउ रे भन्नुभयो । आमा गएको मिल मेरै साथीको थियो । मैले आमालाई किन रैछ भनेर सोधेको केही थाहा छैन भन्नुभयो । अनि दाईको छोरीलाई लिएर मिलमा गए । मिल एकदमै भिड थियो । बाहिरैबाट हातले बोलाए । अनि उसले यताउता हेरेर खल्तिबाट कागज निकालेर मलाई दिदै भन्यो यो।।।ले देको तिमी घर गएर पढ है । कागज दिएपछि के रैछ भन्ने खुल्दुली भयो मलाई । बहिनी र साथीकै अगाडि हतारिदै कागज खोले । हात थरररररररररररर काप्यो । निधारबाट पसिना बगे जस्तो भयो । रिसको पारा तातेर आयो । मुखबाट निस्किहाल्यो(ुसाले त्यसको त्यत्रो हिम्मत१ुअनुहार कस्तो छ, बाँदरको जस्तो त्यसमाथि अध्यारोमा चुक घोप्टाए जस्तो कालो । रिसले मुरमुरीन थाले म ।

त्यो कागज मेरो सान्दाईको साथीले मलाई पठाएको लभ लेटर रैछ । रिसको पारा पहिले नै तातिसकेको थियो । साथी मिलमा बाबालाई सहयोग गर्न जादैं थियो मैले उसलाई त्यहि रोके र चिठी पढ्न थाले । लेखिएको थियो “म तिमीलाई एकदमै मन पराउँछु, माया गर्छु । यो कुनै केटाकेटी खेल्दा गरेको माया हैन, मैले तिमीलाई साच्चिँकै माया गरेको छु । मलाई थाहा छ तिम्रो र मेरो केही कुरा मिल्दैन, र हाम्रो परिवार र तिम्रो परिवार पनि आकाश जमिनको फरक छ । तर पनि मैले तिमीलाई माया गर्न थाले । तिमीलाई सिधैँ भेटेर भन्ने हिम्मत नहुदा यो काजगको साहारा लिएको छु प्लिज मेरो मायालाई यसै मर्न नदिनु । म तिमीलाई जीवनमा कहिले पनि दुख दिने छैन, यो संसारको सारा खुसी दिनेछु तिमीलाई ।” ओहो मलाई त पढ्दा पढ्दै त्यो काले बाँदरको अनुहार सम्झेर वाक्क लाग्यो ।
छिटो छिटो चिठी पढे । साथीले केही भन्न खोज्दै थियो । तर उ बोल्न खोज्दा खोज्दै टक्क रोकियो र मलाई ट्वा परेर हेर्न थाल्यो । किनकी त्यो केटाले पठाएको चिठी म मेरो साथी र बहिनीको अगाडि धररररररररर च्यातिरहेको थिए । मेरो साथी मलाई रोक्न खोज्दै थियो । म कसैले रोकेर रोकिनेवाला नै कहाँ थिए र रु१ मैले चिठी च्यातेर सानो सानो टुक्रा पारिसकेकी थिए । साथी मलाई उसले कति माया गर्छ सुनाउदैं थियो । मैले उसको कुरा सुन्नेकै थिईन । बहिनी वाल्ल परेर मलाई हेर्दै थिई । चिठी च्यातेर पनि रिस नमरेपछि च्यातेर टुक्रा टुक्रा पारेको चिठीमा थु थु गरे र जुन खल्तिबाट साथीले चिठी झिकेर दिएको थिए त्यहि खल्तिमा राखीदिए र भने अब के भन्नुपर्छ त्यो काले बादरलाई थाहा पायौँ होला, अब आईन्दा यस्तो कुरा लिएर फेरी आयौँ भने तिम्रो र मेरो मित्रता पनि यसरी नै टुक्रिने छ भनेर सरासर घर फर्के । 
अचेल त्यो काले बाँदर मेरी दिदीसँगै स्कुलमा पढाउँछ । घर गएको बेला केटाकेटीले कर गर्ने हुँदा स्कुल जान्छु । काले मलाई हेरेर मुस्कुराउन खोज्छ कालो अनुहारमा सेतो दाँत टल्काएर । मलाई त्यसको अनुहार देख्यो कि त्यहि कुरा याद आउँछ र फेरी रिस ताजा हुन्छ । अनि म त्यसको मुस्कानलाई बेवास्ता गर्दै केटाकेटीहरुसँग रमाउन थाल्छु ।
यि त केही प्रतिनिधी घटनामात्रै हुन् । यसरी प्रेम प्रस्ताव राख्नेहरु धेरै छन् । कतिले राम धुलाई पाएका छन् त कतिले राम्रै सम्झाई । तर यि केही घटनाले बेला बेलामा सम्झेर एक्लै हाँस्ने बनाउँछ । हाँस्छु एक्लै र तिनीहरुलाई धन्यवाद दिन्छु तिमीहरुले यति हर्कत नगरेको भए म बेलाबेलामा एक्लै हाँस्ने थिईन । हुन त अझैँ पनि प्रेम प्रस्ताव राख्नेहरु हुन्छन् र छन् पनि । कतिलाई बिहे भैसक्यो मेरो भन्दा पनि कचकच गर्न छोड्दैनन् भने कतिलाई एकपटक भन्दा नै आफ्नो बाटो लाग्छन् ।
मान्छेहरु माया नै संसार हो भन्छन् । तर त्यहि संसारभित्रको एउटा सानो झिल्का माया भेट्टाउन नसकेर छछ्टपट्टि रहेका हुन्छन् । र आफुलाई आफैले पिडा दिईरहेका हुन्छन् । कोही आफुले माया गर्ने मान्छेलाई मनको कुरा भन्न प्रणय दिवस कुर्छन् । कोही आफुले चाहेको मान्छे नपाउँदा आफुलाई नै हानी हुने काम गरिरहेका हुन्छन् । माया गर्नुस्, कसैको मनको भावनामा चोट नपुर्यानुस् । सधैँ खुसी रहनुस् ।

No comments:

Post a Comment