Monday, November 3, 2014

साया र म

तिहारको रमझम, जताततै झिलिमिली बत्तीहरु । वल्लोपल्लो घरमातिहारका लागि पकाईएका सेल रोटीको बास्ना । रमाइलो समय, रमाईलो वातावरण । तर यसै यसै मनमा नरमाइलो लागिरहेको थियो । तिहारमा घरजानेहरु देखेर मन खिन्न भैरहेको थियो । घरिघरि घरको आँगनमा फुल्ने मखमली र सयपत्रीले बोलाइरहेको जस्तो आभाष भैरहेको थियो, कसैले बोलाए जस्तो, कोहीसँगै बसेर कुरा गरे जस्तो, दिदीहरु जोडजोडले हाँसे जस्तो, कस्तो–कस्तो । सम्झना र कल्पनामा म मेरो आँगनीमै पुगेकी थिएँ । तिहारको दुइदिन अघि घरबाहिर बसेकी चेलीको मन किन चरिजस्तै उँडेर आफ्नै गाउँ, आफ्नै घर नपुग्दो हो र ? मेरो पनि त्यसरी नै घरिघरि घर पुगिरहेको थियो । उडिरहेको थियो मन चंगासरी । कल्पनामै हराउन व्यस्त थिएँ म ।
एक्कासी बजेको फोनको घण्टीले मेरो एकाग्रतालाई भंग गर्‍यो । फोन हेरे, नम्बर नचिनेको थियो । राती साँढे आठ बजिसकेको थियो । के गरौँ उठाउँ कि नउठाउँ ? जस्तो भयो । नयाँ नम्बर ह्याा उठाउदिन जस्तो लाग्यो । फेरी लाग्यो, सेल नम्बर भए पो एउटा कुरा, कसैले काम नै परेर ल्याडलाइनबाट फोन गरेको होला भन्ने सोचेर फोन उठाएँ ।
सबिता चिन्यौँ म गणेश दाई धादिङबाट ।
चिन्न त किन नचिन्नु गणेश दाईलाई । तर, अचम्म लाग्यो कहिले फोन नगर्ने मान्छेले यति राती किन फोन गरेको होला भनेर …त्यै पनि औपचारिकता त देखाउनै प¥यो भनेर कुरा गर्न थाले । अँ ! दाई भन्नुस् न के थियो ।
दाईले मलाई फोन गर्नुको बेलीविस्तार लाउनुभयो र भन्नुभयो प्लीज नाई नभन है !
कुरा सुनेर मेरो मनमा ठूलै हलचल ल्याइदियो । के गर्ने कसो गर्ने खल्बली भैरह्यो मनमा । उताबाट नाई नभन है भनेर दाईले भनिरहनु भएको थियो । अनि मैले कार्यक्रम कहिले हो भन्दा तिहारको दिन भन्ने जवाफ पाएँ । तिहारको दिन आफ्नो दाईसँग बस्न छोडेर को जान्छ अर्काकी साया बनेर कार्यक्रम चलाउन जस्तो लाग्यो । र, झट्ट आउँदिन भन्न मन लाग्यो, फेरी अर्काे मनले एकपटक सोचेर निर्णय लिँदा राम्रो हुन्छ भन्यो । दुईवटा मनबीच ठुलो द्धन्द्ध सिर्जना भयो । तैपनि एकपटक मेरो दाईलाई सोध्छु अनि खबर गर्छु नी दाई भनेर फोन राखेँ ।
रातभरी नै दुई मनको द्धन्द भैराख्यो । एकमनले भन्छ जा..यति राम्रो अवसर मिलेको छ, तर फेरी अर्काे मनले भन्छ ह्याा त्यस्ता अबसर त जति पनि आउँछन् तेरो लागि किन जानु प¥यो तिहारको दिन । यस्तै यस्तै भनिरहे दुई मनहरु । एकआपसमा बाझाबाझ भयो उनीहरुको । म खाली मुकदर्शक भएँ, दुई मनहरुको बीचमा । जानु पनि मन छ, जानु पनि मन छैन । एकदमै दोधार भयो, के गर्ने, गर्ने ? भोली बिहान त के गर्ने भनेर निर्णय दिनु थियो । दाईलाई फोन गरेर सबै कुराहरु बताए । अनि आफ्नो दुईमनमा भएको द्धन्दको बारेमा पनि भनेँ । दाईले मन खिन्न बनाउँदै के गर्छेस् तँ जाने भए जा भन्यो, अनि फेरी भन्यो आफै डिसिजन ले न के गर्दा राम्रो हुन्छ भनेर । हुन्छ भनेर फोन राखेँ । निदाउनै सकिन राती अबेरसम्म ।
भोलिपल्ट बिहानैदेखि गणेश दाईको फोन आउन थाल्यो । फोनको घण्टी सुन्दा पनि झर्काे लाग्ने भैसकेको थियो मलाई । मैले निर्णय लिन सकेको थिइन । ह्या जाँदिन, फोन पनि उठाउँदिन । फोन उठाएर म आउँदिन भन्न पनि अप्ठ्यारो लागिरह्यो । धेरैपछि दिउँसो फोन उठाएँ र आउँदिन दाई भन्न मात्रै के लागेको थिएँ, प्लिज नाई नभन है भन्ने वाक्यले मलाई एकदमै अप्ठ्यारो पार्‍यो, केही नसोचि दाई म आउँछु भने । मलाई कोसँग जाने कति बेला हिँड्ने उता गएर मैले के गर्ने केही थाहा थिएन । सबै कुरापछि मात्रै थाहा भयो ।
तिहारको दिन टिका लगाएर कार्यक्रमको लागि उता जानुपर्ने थियो । अघिल्लो दिन नै सायाका लेखक सुबिन दाईले फोन गरेर भेट्ने समयको बारेमा कुरा गर्नु भएको थियो । हतारहतार टिका लगाएर दाई,भाई, बहिनी र मैले खाना खायौँ । हजुरआमा र सानीमाहरुले तिहारको दिन पनि के जान्छेस् नजा यतै रमाइलो गरौँ भन्दै हुनुहुन्थ्यो । तर, के गर्नु ? मैले आउँछु भनिसेकी थिएँ । टिका लगाएको एकैछिनमा सुबिन दाईको फोन आयो, २० मिनेटमा मामाघरमा मलाई लिन आईपुग्छु भनेर । सबै जना टिका लगाएर तास खेल्नमै मस्त हुनुहुन्थ्यो। मलाई भने त्यहाँ गएर के गर्ने होला, कसो गर्ने होला भन्ने कुराले सताइरहेको थियो । त्यत्तिकैमा फेरी सुबिन दाईको फोन आयो । उहाँ मामाघर अगाडि आइसक्नु भएको रहेछ । म मामाघरबाट धादिङ्ग जानको लागि हिडेँ ।
सुबिन भट्टराई, नाम चलेको लेखक, सारा युवाको ढुकढुकी बनेका लेखक, सबैले रुचाइएका, सबै युवाको प्रेमिल संसारलाई उजागार गर्न सफल लेखक, खै के के भनौँ अरु । मैले उहाँलाई सम्बोधन गर्न या उहाँको बारेमा भन्नका लागि कुनै शब्दहरु थिएन । म उही चर्चित लेखकको चर्चित उपन्यास समर लभ र साया कि साया बनेर उहाँसँगै जाँदै थिएँ । भेट्ने वित्तिकैको हेलो बाहेक यात्राभरी खासै कुराकानी भएन । सायद आफ्नो कार्यक्रमको लागि उहाँसँग अन्तरर्वार्ता लिन लागेको भए प्रश्नमाथि प्रश्न सोध्न सक्थेँ होला, तर त्यहाँ म अवाक थिएँ । सोध्नका लागि प्रश्नहरु थिएनन् मसँग । सायद सुबिन दाईसँग पनि । भएको भए पक्कै पनि दुई तिन घण्टाको यात्रामा मौनता छाउँदैनथ्यो होला । मलेखुबाट साया र समरलभका प्रकाशक अजित बराल दाई (दाई नै भन्न मन लाग्यो) भेटिनुभयो । अब उहाँसँगै हामी यात्रामा पाँचजना थियौँ । त्यहाँ पनि खासै कुराकानी भएन ।
बेलुका साढे चार बजेतिर धादिङबेसी पुगियो । त्यहाँ पुगेर एकछिन रेष्ट गरेपछि कार्यक्रम कसरी गर्ने भन्नेबारेमा सामान्य कुराकानी भयो । हामी सबै जना एकदमै उत्साहित थियौँ । के होला कस्तो होला भन्ने सबैको मनमा लागेको थियो । अतित कि साया धादिङ्ग आउँदै छे रे भन्ने हल्लाले धादिङ्गको युवा जमात पुरै तातेको थियो । सबैको मन सायालाई हेर्नलाई आकुलव्याकुल बनेको थियो । कस्ती होली साया भन्ने कुराले सबैको मनमा सानो तिनो भुईँचालो नै ल्याइदिएको थियो । त्यस्तै भुईँचालो मेरो मनमा पनि थियो । म अतितकि साया, सुबिन दाई कि साया र त्यहाँका युवाले सोचेकी, कल्पना गरेकी साया बन्न सक्छु कि सक्दिन, दर्शकले मलाई सायाको रुपमा स्वीकार गर्न सक्छन् कि सक्दैनन् भनेर । कता–कता डर लागेपनि म ढुक्क थिएँ । उमेर, रुप, यौवन या अन्य कुराले साया जस्तो नभए पनि म साया जस्तो बन्न सक्छु र त्यो कार्यक्रममा पुगेर साया भेट्न आत्तिएका दर्शक र पाठकलाई साया बनेर देखाउन सक्छु भन्नेमा । किनकी मैले त्यहाँ साया बनेर केही नाटकिय शैलीका साया कन्र्सटमा होस्ट गर्नु थियो । र त्यो काम म राम्रैसँग गर्न सक्थेँ ।
कार्यक्रम सुरु हुने बेला हुनै लागेपछि हामी कार्यक्रमस्थलतिर जान लाग्यौँ । बाहिर एकदमै कालो निलो भएको थियो । बादल मडारिरहेको थियो । हावाहुरी चल्दै थियो । पानीका थोपाहरुले जताततै स्पर्श गरिरहेका थिए । मौसमले साँच्चै नै सायासँग भेट्न, उसलाई हेर्न र उसको बोली सुन्न आत्तिएका पाठक र दर्शकलाई च्यालेन्ज गरेको थियो र त्यो च्यालेन्ज स्वीकार्न तयार थिई साया र दर्शक, र पाठक पनि ।
कार्यक्रम पानी परेपनि सुरु भयो । युवाहरु धादिङको स्थानिय रक व्याण्डको गीतमा झुमिरहेका थिए । बेला–बेला कार्यक्रम होस्टले अतितकी साया यहीँ छ , काठमाडौँबाट आइपुगी भन्दा दर्शकहरु तानिएर यताउता हेर्थेँ । त्यो समयमा म सुबिन दाईको पछाडि आफूलाई लुकाउने प्रयास गरिरहेकी हुन्थेँ । दर्शकहरुको प्रतिक्षा गर्ने शक्ति कम हुदै थियो । सुबिनदाई स्टेजमा गएर बोल्न थालेपछि उहाँका फ्यानहरुको हौसला देखेर एकदमै रमाइलो लागिरहेको थियो । पर्रर्र ताली र सुबिन दाईको आवाजले हजार दुई हजारको संख्यामा रहेका दर्शकहरु मन्त्रमुग्ध भएका थिए । उनीहरु सुबिन भट्टराईलाई देख्न पाउँदा निकै आनन्द महसुस गरेको मैले प्रष्ट देखेकी थिएँ । पानी परिनै रहेको थियो । सुबिन दाई पानीको बेवास्ता गर्दै बोली रहनुभएको थियो । उहाँको आवाज एक किसिमको उत्साह र हौसलाले भरिएको थियो । त्यति धेरै फ्यानहरु देख्दा जो कोहीलाई पनि उर्जा मिल्ने गर्छ र त्यो उर्जा त्यति बेला दाईमा पनि थियो ।
सायाको लागि स्टेजमा कुर्सी तयार पारियो । फेरी एकपटक मुटु ढुक्क गर्‍यो । तर, पनि मैले राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास र साहसले गर्दा त्यो मुटुको ढुकढुकी आफैँ आफैँ हराएर गयो । साया अब एकैछिन्मा स्टेजमा जादै थिई । तर एकाएक एकदमै ठूलो पानी पर्‍यो । साउण्ड सिस्टमले काम गर्न छोड्यो । दर्शकहरु घरको, रुखको ओत लागेर सायालाई कुरिरहेका थिए । उनीहरु पनि साउण्ड सिस्टमले काम गर्न छोडेपछि बोलिरहेको मान्छेको आवाज सुन्न सकिरहेका थिएनन् । आयोजकहरु के गर्ने भनेर यता उता गर्दैथिए । पानी रोकिने छाँटै थिएन । आकाश एकदमै कालो भएको थियो । चट्याङ्ग परेको आवाज घरिघरि कानमा ठोकिन्थ्यो । सबैजना अन्यौँलमा थिए । साउण्ड सिस्टमले साथ दिएको भए पानीमै भिजेरै भएपनि कार्यक्रम गर्ने कुरा भएको थियो । तर त्यो पनि असम्भव भयो । अन्ततः कार्यक्रम स्थगित नै गर्नुपर्‍यो ।
ठूलो उत्साह बोकेर भाइटिकाको दिन धादिङ्ग पुगेकी साया, सायाका लेखक, प्रकाशक र कार्यक्रम आयोजक सबैको उत्साह क्षणभरमै खतम भयो । सबै सपनाहरु एकाएक भताभुंग भयो । साया बनेर आफूलाई दर्शकमाझ प्रस्तुत गर्ने मेरो सपना, साया र समरलभको बारेमा धादिङका युवा पाठकमाझ आफ्ना धेरै कुराहरु बाँड्ने लेखकको सपना, साया र सुबिन भट्टराईलाई धादिङ्गका दर्शक तथा पाठकमाझ ल्याउने आयोजकको सपना, सबै सबै भताभुंग भयो । सबै आशाहरु निराशामा परिणत भयो । के सोचेर भाइटिकाको दिन घरको रमाइलो छोडेर, आफ्नो दाईलाई नरमाइलो पारेर, धादिङ्गका युवामाझ साया भेट्ने अभिलासा पूरा गर्न पुगेकी थिई, त्यो सबै सपनाझैँ भयो । जुन उत्साह कार्यक्रमस्थलमा साया बनेर पुग्दा थियो, त्यो उत्साह पानीका कारण कार्यक्रम स्थगित भएपछि एकाएक विलीन भयो, पानीको थोपा जस्तै ।

No comments:

Post a Comment