Monday, February 18, 2019

परिश्रमको गाढा रङ

“ओ दाइ ! स्नेहा होटल जाने हो ?”
“अहँ, त्यति टाढा त जान्नँ ।”
“ए, ल त ।”
० ० ०
एउटा रिक्साले न्युरोडबाट स्नेहा होटल जान नमानेपछि अर्काे रिक्सा कुर्नुको विकल्प थिएन ।
घाम पनि आफ्नो घर फर्किसकेको बेला थियो । घडीले साढे सात बजाउने सुरसार कस्दै थियो । भोकले पेटभित्रका आन्द्रा निमोठिएर च्यातिनै थालेका थिए । हामी तीन जना थियौँ । होटलसम्म पुग्ने लमतन्न सडक ढसमस्स थियो हाम्रा अघिल्तिर ।
० ० ०
त्यही सडकको छातीमाथि धामिन सर्पझैँ परबाट घस्रिँदै एउटा रिक्सा आएको देख्यौँ । केही मिटर परै थियो ऊ । हात दिएर रोक्न खोजेँ मैले ।
मसिनो धर्को मोटो, मोटो, मोटो हुँदै हाम्रो अघिल्तिर सिंगो रिक्सा भएर ठिंग उभियो । आकाशमा टल्किन थालेको जूनको छाया हाम्रो अनुहारमा प¥यो । तर, आकाशबाट विदा मागेर सूर्य जाँदाको आकाशझैँ गोधूली रङ पोतिएको अनुहारसहित रिक्सा चलाइरहेको भाइ मुस्कुराउन खोज्यो ।
मेरो मुखबाट फुत्तै निस्कियो, “आम्मा कति सानो भाइ !” 
उमेरले उसलाई फिक्का देखाए पनि परिश्रमले उसको जीवनको रङ गाढा बनाएको हुँदो हो नि । यस्तो सोचेँ । परिश्रमको रङ कति गाढा हुँदो रहेछ !
त्यो सानो भाइ, मुसुक्क हाँस्यो । थाकेर चूर भएको उसको अनुहारले बताउँथ्यो । तरपनि, हाँस्दा ऊ एक्कैछिन उज्यालियो । जस्तो बिजुली चम्कँदा आकाश उज्यालिन्छ । उज्यालो अनुहारमा मीठो हाँसो बेस्सरी सुहायो । हाँसेको त कसलाई सुहाउँदैन र ! देख्दा त त्यस्तै कलिलो थियो ऊ । तर, लाग्थ्यो जिम्मेवारीको सगरमाथाले उसलाई ‘बाउन्ने’ बनाइरहेको छ ।
“भाइ जाने हो स्नेहा होटल ?”
“हुन्छ ।”
“कति हो नि पैसा ?”
“जति दिए नि दिनु न ।” उसले आफ्नो श्रमको मूल्य तोकेन । हामी गह्रुँगो भयौँ ।
“भन न” साथीले जिद्दी ग¥यो ।
“हैन जति दिए नि हुन्छ । ४० दिनु न ।”
उसले ४० भनेपछि लाग्यो उसलाई अझै नेपालगञ्जको रिक्साको भाडादर थाहा छैन । नत्र हामी जहाँ थियाँै, त्यहाँबाट स्नेहा होटल पुग्न ५० रुपैयाँ प्रतिव्यक्ति लाग्छ, कम्तिमा पनि ।
हाम्रो जिद्दीपछि त्यो सानो भाइले आफ्नो श्रमको मूल्य लगाएको देख्दा भनन रिँगटा छुटिसकेको थियो मलाई ।
ठीक त्यही बेला कलंकीमा बल्छी थापेर बस्ने ट्याक्सी ड्राइभरहरूको अनुहार सम्झिएँ ।
हामी तीनै जना रिक्सामा चढ्यौँ । वर्षांैै रिक्सा चलाएको मान्छेजस्तो पाको ऊ । जिम्मेवारीले मान्छेलाई कसरी परिवर्तन गरिदिन्छ, त्यसको ज्वलन्त उदाहरण त्यही सानो भाइ थियो । उसले आफ्नो जिम्मेवारीको भारसहित हाम्रो भारलाई लमतन्न सडकमाथि घसारिरहेको थियो ।
खाल्डाखुल्डी मज्जाले छल्दै हिँड्न थाल्यो रिक्सा । मलाई लाग्यो, जीवनका असन्तुष्टि, अफ्ठ्यारा र हण्डरहरू यो सानो बालकले यसैगरी छल्दै हिँडेको छ कि छैन होला ? केही मिनेटको बाटो पार गरिरहँदा मेरा मनमा हजारौँ तर्कनाहरू सुट्ट सुट्ट आऊजाऊ गरिरहे ।
ओर्लिने बेला सोधेँ, “बाबु एकछिन कुर्छौ ? हामी खाना खाएर अघिकै ठाँउमा फर्किन्छाँै ।”
ऊ मुसुक्क हाँस्यो । दाहिने हातको चोर औँलालाई कुप्री पार्दै निधारतर्फ बढायो । र, निधारमा छुटेको पसिनाको मूललाई त्यही औँलाले सर्लक्क पा¥यो । श्रमको मोती–दाना चिल्लो सडकमा तप्प खस्यो । अनि भन्यो, “हुन्छ ।”
“खाना खायौ ?” होटलतर्फ जानुअघि उसलाई सोध्यौँ, “नखाएको भए जाउँ ।”
उसले मानेन । घरै गएर खान्छु भन्यो । अनि, उसलाई कुर्न आग्रह गरेर हामी केही बेरलाई हिँड्यौँ ।
खाना खाइञ्जेल पनि मेरो दिमागमा त्यही रिक्साचालक भाइका बारेमा कुरा खेलिरह्यो । उसकै अनुहार दिमागमा नाचिराख्यो ।
ऊसँग केही कुरा गर्न, केही सोध्न मन लाग्यो ।
हतार हतार खाना खाइसकेर ऊ भएको ठाउँमा पुगेँ । हातको टेको बनाएर ऊ झकाइरहेको थियो ।
कुरा गर्ने मेसो मिलाउन खोज्दै थिएँ । के सोध्ने सुरुमा जस्तो लागिरहेको थियो । त्यसैले “कुर्नु प¥यो है भाइ” भन्दै कुरा सुरु गरेँ ।
सजिलो उत्तर आयो ऊबाट, “नाइँ नाइँ । ठीक छ ।”
“भाइकोे नाम के हो नि ?” कुराको पोायो फुकाएँ मैले नै ।
“देवजंग शाही ।”
“कति वर्ष भयौ ?”
“१४”
“अनि तिम्रो घर कहाँ हो ?”
“कालिकोट, मान्मा बजारदेखि अलि भित्र गाउँमा ।”
“यहाँ को को बस्छौँ ?”
“आमा, दुई जना भाइ, एउटा बहिनी र म ।”
“अनि बुवा ?”
“हुनुहुन्न ।”
“कहाँ जानु भएको ?”
“खै थाहा छैन ।”
यो उत्तरले म चिरिएँ । कहिलेकाहीँ नगरे पनि हुने कुरा गरिदिन्छ मान्छे, नभए पनि हुने घटना घटिदिन्छ जीवनमा । सबैथोक घटना हो । कोहीकसैलाई भने सिंगो जिन्दगी नै दुर्घटना भइदिन्छ ।
केहीबेर मौन बस्यौँ हामी । मौनताले चिरेपनि मनभित्र प्रश्नहरूको कारखाना तैयार थियो । एकछिनको मौनतालाई भंग गर्दै फेरि सोधेँ ।
“अनि आमाले बुवाको बारेमा केही भन्नु हुन्न त ?”
“अहँ ।”
यति भनेर ऊ एकछिनसम्म ओठ टोक्दै यताउता ग¥यो । बाटोको मधूरो बत्तिमा मैले उसको अनुहार नियाल्न खोजेँ । ऊ केही बोल्न खोज्दै थियो, केही भन्न खोज्दै थियो, म उसको कुरा सुन्न पाउने हतारोमा थिएँ ।
“कालिकोटमा घर त छ तर अन्नपात केही पनि उब्जनी हुन्न, त्यही भएर हामी नेपालगञ्ज आइम् ।” देवजंग विस्तारै खुल्न थाले, “मामा हुनुहुन्छ उहाँले नै कोठा खोज्दिनु भयो, ग्यास चामल सबै किन्दिनु भयो, त्यही मामाको अटो रिक्सा थियो, मामाले नै मलाई रिक्सा सिक्छौ र भनेपछि मैले हुन्छ भने, अनि रिक्सा सिकेर चलाउन थालेँ ।”
“अनि सोधेँ कति महिना भयो रिक्सा चलाउन थालेको ?” सोधेँ ।
“सात महिना ।”
“तिमी त एकदमै सानो छौ, १४ वर्षको मान्छे, यति सानो मान्छेले यसरी रिक्सा चलाउँदा पुलिसले समाउँदैन ?”
“अहँ समाउँदैन, केही भन्दैन ।” ऊ ढुक्क सुनिन्थ्यो ।
उसको कन्फिडेन्स न्युरोडबाट रिक्सा चढेपछि नै प्रस्ट देखेकी थिएँ मैले । किनभने, ऊ मज्जाले रिक्सा चलाइरहेको थियो, खाल्डाखुल्डी याद गर्दै, मान्छेलाई बाटो दिँदै, ठूला गाडी आए आफू साइड लाग्दै निर्धक्क रिक्सा हाँकिरहेको थियो ।
ऊ एउटा जिम्मेवार रिक्सा चालक मात्रै नभएर आमा, भाइ र बहिनीको एउटा जिम्मेवार अभिभावक पनि थियो । एक वर्षअगाडि नेपालगञ्ज आएको ऊ, नेपालगञ्जकै सल्यानी टोलमा महिनाको दुई हजार भाडा तिरेर कोठा लिएर भाइ बहिनी र आमासँग बस्छ ।
ऊ त्यहीँकै एउटा सरकारी स्कुलमा कक्षा आठमा पढ्दैछ, त्यति मात्रै होइन, भाइबहिनीलाई क्रमशः ५, ३, २ मा र अब यही वर्ष अर्काेलाई एक कक्षामा भर्ना गराउने हो, त्यसको पनि पढ्ने बेला भयो भन्दैछ ।
आठ कक्षामा पढ्ने त्यो १४ वर्षे देवजंगसँग जति कुरा गर्दै गयो, त्यति नै अचम्म लाग्दै थियो मलाई । नेपालगञ्जको गर्मीमा बिहान स्कुल जान्छ, दिउँसो एकछिन पढ्छ, भाइबहिनीसँग खेल्छ अनि बेलुका रिक्सा चलाउँछ । एकदिनमा अझ भनाँै, साँझ रिक्सा चलाएर, पाँच सात सय कमाउँछ । अनि मालिक (उसको मामा)लाई दिनको दुई सय रुपियाँ दिनुपर्छ, रिक्सा चार्ज गरेबापत ।
घरि–घरि ऊ मलाई पुलुक्क हेथ्र्यो, अनि मुसुक्क हाँस्थ्यो, बाटोमा बालेका बत्तिको उज्यालोमा ऊ अझै चम्केजस्तो लाग्थ्यो मलाई । तर, उसको भविष्य ? तिनै बत्ति निभ्दाको अवस्था सम्झिएँ मैले ।
हामीसँगै जानु भएको दाइ खाना खाँदै हुनुहुन्थ्यो, त्यसैले उसलाई भुलाउनु पनि थियो मैले । 
तर फेरि उसलाई हतार पो छ कि भनेर घरि–घरि “अबेर त भएन नि तिमीलाई ?” भनेर सोध्थेँ, ऊ मुसुक्क हाँस्दै “हैन छैन ।” भन्थ्यो ।
ऊ एकछिन मौन भयो, मतिर फर्केर बसेको ऊ रिक्साको अगाडि फर्कियो, अनि खै के के नबुझिने गरी गुनगुनाउन थाल्यो । त्यो रोमान्टिक गीत थियो । कष्टपूर्ण जीवन बाँचिरहेको एउटा बालक जो नवयुवक बन्ने तरखरमा छ, उसले गाइरहेको गीतले सायद उसलाई जीवन बाँच्ने कला सिकाउँथ्यो ।
घरि–घरि पुलुक्क मलाई हेरेर मुसुक्क हाँस्ने उसलाई हेरेर म उसको अनुहार नियाल्ने प्रयत्न गर्थेँ । अनि सोच्थँे, १४ वर्षको उमेर परिवारको सारा जिम्मेवारी उठाएको छ, केही सुख पाइन्छ कि, दुई छाक मीठो–मसिनो खान पाइन्छ कि भन्ने आसमा जन्मथलो (कालिकोट) छोडेर हिँडेको छ । यति ठूलो कदम चाल्न उसलाई ठूलै हिम्मत र साहस चाहियो होला, तर त्यो हिम्मत र साहस ती साना भाइबहिनीले पक्कै दिएनन्, ती आमा जो केही गर्न सक्दिनन् उनले पनि कसरी दिइन् होला र ? गरिबी, एकछाक खान पाउने सपनाले नै दियो र उठायो होला उसले यति ठूलो कदम । र, आइपुग्यो कालिकोटबाट नेपालगञ्जसम्म ।
जिन्दगी त सपनाहररूले लखेटी लखेटी धानिन सिकाउने एउटा तन्द्राजस्तो ।
हुन त ऊ नेपालगञ्ज आउनुभन्दा पहिले  इन्डिया पनि गयो, त्यहाँ पनि केही समय काम गरेर १४ हजार रुपियाँ कमाएर ल्यायो । तर, उसलाई फेरि फर्केर इन्डिया जान मन लागेन । र, परिवार सबैलाई लिएर आयो नेपालगञ्ज ।
कस्तो ठूलो साहस ! जिन्दगीप्रति कस्तो ऊर्जावान् !
० ० ०
“भविष्यमा के  भन्ने मन छ ?” प्रश्नको अर्को पोयो फुकाएँ ।
“भगवान्ले जे बनाउँछन् त्यही बन्ने हो । जे बनाउँछन् त्यसमै खुसी हुन्छु म ।” लाग्यो ऊभित्र एउटा दार्शनिक छ, त्यसैको आवाज उसको मनको बाटो हुँदै निस्किरहेको छ ।
“तिमीसँग मोबाइल फोन छ ?” मैले अर्को प्रश्न सोधेँ । मेरा प्रश्नहरूको कुनै रेखाचित्र थिएनन् । म खलबलिएको थिएँ, उसको अवस्था देखेर । अनि प्रश्नहरू मनबाट निस्किरहेका थिए, फुत्त फुत्त । मैलाई नसोधी ।
“छ्रैन ।”
“किन ? बोक्न मन लाग्दैन ?” सोधेँ ?
“अहिले नै किन बोक्नु मोबाइल ? सबै ध्यान जति मोबाइलमा जान्छ, पढाइमा जाँदैन । म बिग्रिन चाहन्न ।” विष्फोटक लाग्यो उसको जवाफ ।
छक्क परेँ म । उसको कुरा गर्ने तरिका किन किन भिन्न लागिरहेको थियो मलाई ।
अन्ततः । हामी फर्किने समय आयो । उसको रिक्साले सुइँय गर्दै गन्तव्य ताक्यो । हामी हिँड्यौँ ।
बाटोभरी सबै जना चुपचाप थियौँ, मेरो मनमा उसका कुराले उथलपुथल पारिरहेको थियो ।
हामी न्युरोड पुग्यौँ ।
ओर्लिने बेला उसले भनेको भन्दा केही बढी पैसा दियौँ । उसलाई विदा गर्दै मैले भनेँ, “बाबु राम्रोसँग पढ, पढाइमा ध्यान देऊ है ।”
ऊ मुसुक्क हाँस्यो ।
https://baahrakhari.com/news-details/24116/2017-04-29 

No comments:

Post a Comment