Wednesday, October 3, 2012

स्वर्गको एउटा टुक्रा


उ देख्यौँ रारा ताल, म तान्निएर हेर्दै थिए राराताललाई । एकदमै मनमोहक थियो । आज हामी त्यहि बस्छौँ उतै पुगेर मज्जाले हेरौँला । अब हामी ल्यान्ड गर्ने बेला पनि हुन थाल्यो उ हेर त विमानस्थल । राराताल देखेर आनन्दको सास फेरेकी म एक्कैछिनमा सास अड्किएला जस्तो पो भयो, ओ हो कस्तो डरलाग्दो ठाँउ । अलिकता सम्म अरु चारैतिर भिर पहाड, हिमाल । म त हेरेको हेरैं भए । सायद मेरो मनस्थिती बुझेर होला दाई(सविन)ले मुगुको ताल्चा विमानस्थल यहि हो । नडराउ केही हुदैन यहाँबाट हेरे जस्तो डरलाग्दो छैन भन्दै मलाई भनिरहनु भएको थियो तर मलाई भने कता कता डरले मुटु कामे जस्तो लागेको थियो । पहिलो पटक हवाईजहाज चढेकी म त्यसमाथि विमानस्थल त्यस्तो डरलाग्दो । तर पनि सम्हाले आफुलाई । ल्यान्ड गर्दा माथिबाट देखेको भन्दा केही सहज पाए विमानस्थल ।

पहिलो पटक हिमाली क्षेत्रमा गएकी म मनमा छुट्टै किसीमको उत्साह संगालेर राखेकी थिए । जतिबेला पनि पोखिन सक्ने उत्साह । आफुलाई अचम्म पनि लागिरेको थियो, कतिबेला त बिश्वास नै लाग्दैनथ्यो । म कहाँ छु भनेर । हामी (शान्त दाई, सविन दाई र म) विमानस्थलमा आर्लिसकेपछि मुगुको मुटु वा भनौँ नेपालको गहना रारा ताल जानलाई एकदमै हतारिदै थियो । अगाडि एउटा व्याग पछाडि एउटा व्याग बोकेर हिड्नलाई तयार पारीरहेकी थिए म । त्यसरी उकालो ओराली धेरै नहिडेकी म मनमा कता कता डर पनि लागिरहेको थियो कतै म हिड्नै नसक्ने पो हो की भनेर । ताल्चा विमानस्थलमा पाँच मिनेट बसे पछि हामी राराको यात्रा तय गर्यौँ । त्यहाँमात्रै फोन लाग्ने भएकाले सबैले घरमा फोन गरेर राम्रै मुगु पुगेको जानकारी पनि गरायौँ अनि लाग्यो उकालो ।
हिडेको एकछिन के भएको थियो मलाई त सास फेर्नै अप्ठ्यारो हुन थाल्यो, व्याग ठुलो अनि उकालो भएर यस्तो भएको होला भन्ने लागेर आफुलाई सहज बनाउन प्रयास गरे तर सबै निरर्थक भयो । मलाई साच्चि नै सास फेर्न अप्ठ्यारो भएको रहेछ । हिड्दा हिड्दै म त पछाडि पो पर्न थाले । हामीसँगै विमानस्थलबाट केही माथिको व्यारेकमा जाने केही आर्मिहरु पनि हुनुहुन्थ्यो । एकजनाले मेरो व्याग बोकिदिन्छु भन्नु भयो मैले पनि सहजै व्याग उहाँलाई दिएर हिडेँ । तर पनि मैले सहज रुपमा सास फेर्न सकिन । दुईजना दाईहरु र आर्मीदाई मज्जाले नै हिड्नु भएको थियो । व्यारेक आएपछि फेरी आफँैले व्याग बोकेर हिड्न थाले । हिमालमा बानी नपरेकालाई त सासै फेर्न पो गाह्रोँ हुदो रैछ । पछि त विस्तारै अलि सजिलो हुन थाल्यो ।

कोही मान्छे देख्ने वित्तिकै रारा पुग्न कति समय लाग्छ भन्दैँ सोधिहाल्थ्यौँ । कति बेला रारा पुग्ने होला जस्तो भैरहेको थियो । जब हामीले टाढैबाट नेपालको विकट जिल्लामा हरेको स्वर्गकी अप्सरा रारालाई । साच्चिकै एकदमै राम्रो र मनमोहक लाग्यो रारा । अनि रारा स्वर्गको एउटा टुक्रा हो की जस्तो लाग्यो । हामी यति खुसी थियौँ त्यसको वर्णन म मात्रै हैन हामी तिनै जनालो गर्न सकेका थिएनौँ । व्यागस्याग एउटा छेउमा थन्काएर हामी राराको अनुपम सौन्दर्य पान गर्न राराको छेउमा पुग्यौँ । कवि मविवि शाहले लेखेको कविता रारा की अप्सरा जस्तै अप्सरा नै लाग्यो रारा । अनि अचम्म पनि लाग्यो । कसरी यति राम्रो भयो होला सोच्नै र भन्नै नसकिने राम्रो रैछ रारा । सायद म त्यति धेरै त कहिले पनि रमाएको थिईन होला । मुगु जानु भन्दा पहिले अफिसमा भरत सरले भनेको कुरा याद आयो ताल्चा विमानस्थलबाट नजिकै छ रारा जसरी पनि पुग्नुहोला , नछुटाउनु, त्यहाँ जानु भएन भने त पछुतो लाग्छ । साँच्चै हो रैछ उहाँले भनेको ।

त्यहाँ हामी धेरैबेर नै बस्यौँ, फोटोहरु टन्नै खिच्यौँ, जति हेरे पनि राराको प्यास मेटिएन । रात पर्दै थियो । घामले लुकामारी खेल्न थालेको थियो । राराको विचमा डुब्नै लागेको घामको किरण निक्कै लोभलाग्दो देखिरहेको थियो । हामी त्यहाँ पुग्ने वित्तिकै राराको स्वच्छ, सफा पानी मा आफुलाई एकछिन भए पनि हराउने विचार गरेका थियाँैँ तर पानी छुँदा सकिन्छ जस्तो लागेन । पुसको महिना त्यसमाथि राराको चिसो पानी । मुटु कमाउने चिसोलाई चिर्दै भए पनि हामी रारालाई नजिकैबाट स्पर्श गरिरहेका थियाँै । नचाहेरै पनि हामी रारालाई छोडेर हाम्रो बासस्थानको जोहो गर्न त्यहाँबाट वाईवाई चाउचाउ चपाउदैँ अगाडि बढ्यो ।

घडिले बेलुकाको साढे आठ बजाउदै थियो । जंगलको बाटो राराको तिरैतिर हामी हिडिरेका थियौँ । केही पर आर्मिको व्यारेक रहेछ, रारा राष्ट्रिय निकुञ्जको, त्यहाँ हामीलाई माथिबाटै कराएर कोहो भनेर सोध्यौँ । हामीले पनि हामी कहाँबाट के कामले गएका थियौँ सबै बताएर कतै घर छ की बासबस्नलाई भनेर सोध्यौँ । उनीहरुले केहि पर होटल छ त्यहि जानु भन्दै यति राती यसरी नहिड्नु भन्दै सल्लाह पनि दिए । अनि हामी हामी होटल तिर गयौँ । बासबस्नका लागि राम्रै ठाँउ रहेछ । कोठामा सामान सामान राखेर आगोको छेउमा बसेर दिनभरी हिडेर थाकेका खुट्टालाई केही बेर भए पनि आराम गर्न दियौँ र हामी पनि खाना खाने समय कुर्दै बस्यो । खाना खाएर भोली गर्ने कामको सामान्य तयारी पछि सुत्यौँ ।

भोली पल्ट त्यहाँका स्कुल पढ्ने विद्यार्थी भाईबहिनी हरुलाई भेटेर त्यहाँको बालबालिको अबस्थाको बारेमा जानकारी लियौँ । अनि हामी जे कामका लागि गएका थियौँ त्यसको लागि अर्काे दिन स्कुलमा भेट्ने कुरा पनि गर्यौँ । मानव बेचविखनको बारेमा त्यहाँको अबस्थाको बारेमा बुझ्न हामी मुगु पुगेका थियौँ । हामीले त्यहाँ सुनेभन्दा एकदमै कम मात्रामा मानव बेचविखनको घटना हुने गरेको पायौँ । त्यहाँको भाईबहिनीहरुले धेरै कुरा बुझ्नु भएको रहेछ । उहाँले हामीहरुलाई धेरै कुराहरु जानकारी दिनु भयो । मुगुको हाम्रो काम त्यहि दिन केही मात्रामा सकिएको थियो । त्यसपछि हामी भोली भेट्ने कुरा गर्दै गर्दा एकजना भाईले हामीलाई मुर्मा टप घुमाउने कुरा गर्नु भयो । ईन्कार गर्ने कुरै थिएन । हामी तुरुन्तै तयार भयौँ र त्यतातिर लाग्यो ।

तिन घण्टाको नाकै ठोकिएला जस्तो उकालो चढेर हामी मुर्मा टप टावर पुग्यौँ । त्यहाँबाट छ वटा भन्दा धेरै जिल्लाहरु देखिने रहेछ । हामीले त्यहाँबाट चारै तिरको दृष्य नियाल्यौँ । सानो तिनो मान्छेलाई उडाउला जसरी चिसो हावा चलिरहेको थियो । त्यहाँबाट रारा एकदमै चहकिलो र स्पष्ट देखिरहेको थियो । हामीसँगै जानुभएका भाईहरुले हामीलाई त्यहाँको प्राकृतिक सुन्दरताको बारेमा वर्णन गरिहनु भएको थियो । केहीबेरको मुर्मा टप बसाई पछि हामी तल झर्न थाल्यौँ । खुट्टाले निहुरिनै मानेनन् । एकदमै गाह्रो भयो । बल्लतल्ल हामी मुर्मा आईपुग्यौँ । एकछिन त्यहि बसेर चिया खायौँ । अनि आफ्नो बासस्थान, स्वर्गको टुक्रा भएको ठाँउ पुग्यौँ ।


अर्काे दिन विहानै हामी रारातालमा बोटिङ गर्यौँ । मलाई सारा दुख्ख, थकाई बिर्साउने रारा देखेर रारा तिमी नै हौँ मेरी जीवनकी सहारा भन्न मन लाग्यो । जति हिडेँ पनि फर्केर एकपटक रारालाई हेर्यौँ भने मैले सारा दुख्ख, थकानलाई विर्सेको थिए । स्वर्गको एउटा टुक्रा भुुक्किएर पृथ्वीमा खसेको हो की लाग्थ्यौँ जस्तो आभाष हुन्थ्यो । साच्चि नै नेपाल र नेपाली प्राकृतिक सम्पदामा निकै नै धनी छ । विकासका पुर्बाधारहरुको प्रयाप्त मात्रामा विकास हुने हो भने नेपालले कसैको मुख ताक्नु पर्दैन होला । अनुपम सौन्दर्य बोकेको रारामा पर्यटकको संख्या भने निकै नै कम रहेछ । यातायातका साधनको विकास र सडक विस्तार नभएकै कारणले त्यहाँ मानिसहरु सहजै जान नसक्ने रहेछन् । औसतमा त्यहाँ दिनमा करिव दुई तिन जना मात्रै पर्यटक आउने रहेछन् । स्वर्गको टुक्रा रारा रहेको मुगु र त्यहाँका सहयोगी मानिसहरुलाई विकासको धेरै नै खाँचो छ । उनीहरुको विकासको पर्खाईमा छन् ।

मविवि शाहले यत्तिकै रारा की अप्सरा लेखेका रहेनछन् । त्यहाँ जाने जो कसैलाई पनि लाग्न सक्छ मविविले राराको सौन्दर्यलाई स्वर्गकी अप्सरासँग तुलना गरेका रहेछन् । स्वर्गकी अप्सरा खोज्न र स्वर्गीय आनन्द लिन अब कतै धाईरहनु पर्दैन । आफ्नै नेपाल भित्रै लुकेर बसेकी छिन अप्सरा अनि त्यहि मै छ स्वर्गीय आनन्द । वरिपरि ठुलाठुला हिमश्रृंखलाहरुको विचमा रहेकी रारा साच्चै नै स्वर्गकी तारा हुन् ।

1 comment:

  1. कुनै दिन अवस्य पुगिने छ

    ReplyDelete