Sunday, October 7, 2012

मेरो बाटुले घर


दाई यता कतै बास बस्नलाई राम्रो होटलहरु छैन ?
छ नी किन नहुनु ।
एकदमै राम्रो होटल छ । बरु तपाईहरु कहाँबाट आउनु भएको हो कुन्नि रातै पार्नु भएछ आउनलाई ।  
अहिले त हामी मुगुबाट आउदै छौँ  
ए । आउन त तलतिरैबाट आउनु भएको होला ।  
हो हो । बरु दाई हाम्लाई होटलको नाम भन्दिनुस् न है...  
ए उ त्यहि तल छ म पनि त्यहि बाटो जान्छु आउनुस सँगै जाउ.....  
दुईदिनदेखि राम्रोसँग खान र सुत्न नपाएका हामी खुसीको सास फेरेका थियो । अझ मेरो त के कुरा गर्नु र म त यसै पनि फुरुङ्ग भएकी थिए । मेरो मनले अब त राम्रै ठाँउमा बस्न र पेटभरी खान पाईने भयो भनेर म यसै यसै खुसी भएकी थिए । मनमा के के कुराहरु खेलाउदा खेलाउदैँ हामी बस्ने भनेको होटल नजिकै आउदै थियो । मैले परैबाट होटलको साईनबोर्ड देखेँ । अध्यारोमा सकिनसकी पढेँे रिभरसाइट होटल एण्ड लज । यसै पनि बस्ने ठाँउ राम्रो छ भन्ने सुन्ने वित्तिकै खुसी भएकी म झन् खुसी भए । अनि भोकले लतारिएका मेरा पाईला अलि छिटो छिटो सर्न थाले । 
एकछिनसम्म एकदमै हतारिएका मेरा खुट्टाहरु एकाएकै फेरी अगाडि बढ्नै मानेन् । अगाडि बढाउछु भन्दाभन्दै पछिपछि मात्रै सर्न थाल्यो । कसै गरे पनि मेरा थाकेका खुट्टाहरु अगाडि जानै मानेनन् । अचम्मको रिर्भरसाईट होटल एण्ड लज । यताउता जताततै खच्चरै खच्चर , राम्रोसँग खुट्टा टेक्ने ठाँउ पनि छैन । सास फेर्न पनि गाह्रो हुने गरी ठसठसी गन्हाएको । अनि खच्चरसँगै खच्चर लिएर आउने मान्छेहरु । उनीहरु पनि त्यस्तै । जुम्लाको चिसोमा कति दिनदेखि ननुहाएका थिए कुन्नि । एकछिन त म अन्योलमा परे के यहि हो त हामी बस्ने भनेको राम्रो होटल ? मलाई त यत्तिकै सकसक हुन थाल्यो, कता कता चिलाउन थालेको जस्तो लाग्यो । अनि बाहिर जस्तो भए पनि भित्र त राम्रो होला भनेर हामी होटलको नाम मात्रैको गेटबाट भित्र गएर कोठा हेर्‍यौँ । जताततै रक्सिका बोतलहरु अनि फोहोरको त के कुरा गर्नु र....बाहिर भन्दा कम थिएन भित्रको गन्ध । अझ अचम्म त होटलको रेट सुनेर पर्‍यौँ । नेपालगञ्जको चल्तिको होटलको भन्दा बढी । अनि हामीले त्यहाँ नबस्ने निर्णय गर्‍यौँ  र केहि तल अर्को होटलमा गएर बसौँ ।  
हामी सबै एकदमै निसास्सी सकेका थियौँ । कहिले फर्किने होला जस्तो लाग्न थालेको थियो । तर पनि मेरो मनले कता कता त्यहाँको माटोसँग त्यहाँको हावासँग कतै केही सम्बन्ध छ की जस्तो अनुभव गरिरहेको थियो । त्यहाँ मेरो केही छ की मैले केही विर्सेको छु की जस्तो लागेको थियो । तर थाहा थिएन त्यो के हो भनेर । मेरो मनले केही खोजीरहेको थियो । केही पाएको जस्तो केही नपाएको जस्तो । एकदमै दोधार थियो मेरो मन । मैले थाहा पाए किन मेरो मन यति सारो चञ्चल भएर मलाई नै सताईरहेका ेछ भन्ने कुरा ।   
मेरो बच्चा देखिको वा भनौँ मेरो पुख्यौँली थलो जुम्ला हो भनेर थाहा पाएदेखिको मेरो अन्तरमनको ईच्छा आज पुरा हुदै थियो, त्यसैले मलाई कुनै किसीमका पहाड चढाईले थकाई लागेको थिएन । मेरो मन यसै पनि प्रफुल्ल थियो । मलाई सदरमुकाम जाने भन्दा पनि मलाई मेरो सिँजालई थोरै भए पनि नजिकबाट नियाल्ने धोको थियो । म एकदमै आतुर थिए । विहानै सिँजाको सानो बजार पुग्यौँ र चिया पिउन थाल्यौँ । हातखुट्टा जाडोले गर्दा झर्छ कि जस्तै भएको थियो । कता कता मनमा लाग्थ्यौँ ओ हो हजुरबुबाहरु चाडैँ नै बसाईसरेछन् र ठिकै गरेछन् यतिका जाडो त खप्नु परेन जस्तो पनि लागेको थियो । अनि त्यहाँको प्राकृतिक सुन्दरता देख्दा लाग्थ्याँै चिसो त सबै ठाँउमा हुन्छ नि यतै बस्या भए हुन्थ्यौँ, यस्तो राम्रो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउ छोड्न नहुने जस्तो पनि लागिरहेको थियो । सविन दाई र शान्त दाई चियाको चुस्किसँगै त्यो चिसोलाई जित्ने प्रयास गर्दै हुनुहुन्थ्यौँ मेरो भने ध्यान अन्तै कतै थियो ।  
बुबाले र ठुलोबुवाले भने जस्तै डाडाँमा रहेको बाटुलो घर खोज्न मेरा आँखाहरु घरि यता घरि उता गरिरहेका थिए । बाटुलो घरमा को बस्छ होला भन्ने जिज्ञासा पनि उठिरहेको थियो । आँखाले भ्याएसम्म म मेरो बाटुलो घरलाई खोजिरहेँ, आँखा पनि थाक्न थाले तर मेरो बाटुले घर मैले कतै देख्न सकिन, अनि सकिन सोध्नलाई कसैसँग कता छ मेरो बाटुले घर भनेर । बाटुले घर भएको कहिले जमानामा हो मैले त्यहाँ त्यहि जमानाको घर सोध्यो भने त मान्छेहरु हाँस्छन् होला जस्तो पनि लागेको थियो । त्यसैले कसैलाई नसोधी चियाको चुस्किसँगै मुटु छेड्ने चिसोलाई चिर्ने प्रयास गर्न थाले ।   
त्यतिकैमा एउटा गाडि(स्वराज) आयो, हामी त्यसैमा चढेर जाने भयौँ सबै जना पछाडिको ट्रलीमा चढ्यौँ । कति धेरै मान्छे त्यो ट्रलीमा, बिरामी, बुढाबुढी, बच्चाबच्चिहरु सबै जना त्यसैमा सकिनसकि बसेका थियौँ । अझैँ पनि मेरो आँखाले मेरो बाटुले घर भने खोज्न छोडेको थिएन । मलाई पछाडी बस्दा एकदमै डर लागिरहेको थियो । म सविनदाईको साहारामा आफुलाई उभ्याईरहेको थिए । अगाडि पनि दुईतिन जना त बस्न मिल्ने रहेछ तर ठाँउ नै थिएन । फेरी मलाई दाईलाई छोडेर अगाडि बस्न पनि मन लागिरहेको थिएन । केही अगाडि आर्मीको व्यारेक रहेछ पछाडि बसेका विरामी र सुत्केरी बाहेक सबै जना ओर्लिनु पर्ने भयो । गाडिका सहचालकले मलाई तपाई अगाडि आएर बस्नु ओर्लिनु पर्दैन भनेकाले म दाईलाई भनेर अगाडि गएर बसे । त्यो बसाई मेरो लागि एकदमै लाभदायक नै भयो किनकी त्यँहा एकजना हामै्र बाटुले घर भएको ठाँउतिर नै घर भएका बुबालाई भेटे । अनि सोधेँ त्यँहाको बारेमा । उहाँले मलाई धेरै कुराहरु सुनाउनु भयो । अनि उहाँले हाम्रो त्यो घर केही बर्ष अगाडि धेरै पुरानो भएका कारण भत्कियो भन्दै घर भएको र्ठाँउ परैबाट भए पनि देखाईदिनु भयो । घर जानै नपाए पनि देख्नै नपाए पनि मैले टाढैबाट भएपनि पुर्खाहरु बस्ने गरेको ठाँउ हेरे ।   
मलाई त्यहाँको जनजीवन, रहनसहन, चालचलन देखेर रमाईलो लाग्यो । तर कता कता दुख्ख पनि लाग्यो । स्कुल जाने उमेरका धेरै केटाकेटिहरु घरायसी काम मै व्यस्त । मलाई आफ्नो पुर्खाहरु बसेको ठाउँ पुग्दा धेरै नै रमाईलो लागिरहेको थियो । जुम्ला कणार्ली अञ्चलको एउटा विकट जील्ला जहाँ धेरै बर्ष अगाडि मेरा पुर्खाहरुको बसोबास रहेको थियो । कम रमाईलो धेरै कहालीलाग्दो लाग्यो त्यहाँको बसाई । यातायात र सञ्चारको असुविधाले गर्दा त्यहाँको जनजीवनलाई एकदमै कष्टकर भएको जस्तो लाग्यो । कताबाट आक्कल झुक्कल सामान लगेर जाने सानो ट्रिपर कुरेर बस्ने त्यहाँका मानिसहरु चाहेर पनि आफ्नो स्वास्थ्य प्रति सचेत हुन सकेका छैनन् । हामीसँगै गाडिको पछाडिको सानो ठाँउमा कच्याककुचुक्क परेर उपचारको पर्खाईमा बसेकी सुत्केरी महिलालाई देख्दा कता कता नरमाईलो लागेर पनि आयो । एकछिन गाडि रोक्दा पनि उनको काखको बच्चा कहालिएर रुन्थ्यो । बाटोमा रहेका ठुलाठुला खाल्डा र हिलाम्य सडकले गर्दा गाडि राम्ररी गुड्न सकिरहेको थिएन घरीघरी ओर्लेर हिड्नु पर्ने ।   
आधारभुत विकासका पुर्वाधारहरुको पनि बिकास नभएको मेरो सिँजाले धेरै दुख्खकष्ट भोगेको देखे त्यहाँ । मेरो सिँजा पुग्ने रहर त पुरा भयो । म त्यहाँ पुगेरै छोडेँ पनि । त्यहाँ जानु अघि जुन किसीमको उत्साह र उमंग म मा थियो त्यो कता कता हराएर गयो थाहै पाउन सकिन । मैले बुझेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण त्यो ठाउ र म पुगेको त्यो ठाँउ एकदम फरक पाए । हुन त फोटोमा देखिने, सुनिने र पढिने कुराहरु प्रत्यक्ष हेर्दा धेरै फरक त भै नै हाल्छ तर पनि मैले त्यहाँ धेरै नै फरक अनुभुति गरेँ । जुन कुराले मेरो मनमा ठुलो खलबलि नै मच्चाईरहेको थियो । हरेक कुरामा अप्ठ्यारो हरेक ठाँउमा समस्या झेल्दै पनि विकासको मार्गमा अगाडि बढ्न खोजेको देख्दा खुसी नलागेको पनि होईन । तर पनि जुम्लाबाट काठमाडौँ फर्किदासम्म पनि मेरो मनले त्यहाँको प्राकृतिक सुन्दरता र त्यहाँको कहालीलाग्दो जनजीवनलाई भुल्न सकेको छैन । अनि भुल्न सकेको छैन टाढैबाट भत्किसकेको मेरो बाटुले घर भएको ठाँउ ।   

No comments:

Post a Comment