Monday, October 8, 2012

गुरु जी को फोन


“हलो....हलो....अँ केही पनि बुझिएन है अलि टावर आउने ठाँउमा पुगेपछि फोन गर्छु ।” फेरी एकछिनमै फोनको घण्टी बज्छ उनी फेरी पनि त्यसरी नै फोनमा कुरा गर्छन र फोन राख्छन् । अनि दुईतिन मिनेटपछि त मज्जैले टावर आएछ क्यारे उनले त धेरैबेर नै कुरा गरे । “म भोली विहानसम्म आईपुग्छु तिमीहरु हामी सधैँ भेट्ने ठाँउमा पर्खिराखन अनि सँगै जाउला ।
उनी लामो हाँसो हाँसेर तँ पनि कस्तो छस् यार मैले त्यस्तो कहाँ भनेको छु र विहान सात बजेसम्म त जसरी पनि आईपुग्छु बरु म अलि स्पिडमै बस कुदाउँछु” एउटा हात बसको स्टेरिङ्गमा थियो भने अर्काे हातमा फोन समातेर कुरा गर्दैथिए । उनी फोनको निकै पारखी थिए या उनलाई केही कुराहरु सोध्नकैलागि फोन गरिएको थियो त्यो त मलाई थाहै भएन उनको फोन चार पाँच मिनेटको अन्तरमा आईरहन्थ्यो उनी मजाले फोनमा कुरा गर्थे कतिबेला मज्जाले हाँस्थे कति बेला ए हो र ला बरबाद भएछ नी भन्दै चुकचुकाउथेँ । 
बैसाखको अन्तिम साता म गृहजिल्ला प्यूठान जादैँ थिए । काठमाडौँको बसपार्कबाट प्यूठानको ठुलावेसी जाने बसमा चढेँ । चारबजे छुट्नु पर्ने बस केही ढिला गरि साढेचारतिर हिड्यो । दिउसो जाने बस नगएका कारण वस एकदमै भिड थियो । मैले टिकट काटेर पनि ड्राईभरको नजिकैको बोनटमा बस्नु पर्यो भोली विहान जसरी पनि घर पुग्नु पर्ने थियो । त्यो बसमा नगए अर्काे विकल्प नै थिएन किनकी भोली नै मेरी फुपुको तेह्रौँ दिनको पुण्यतिथीको काम थियो । म जसरी पनि बसिहाल्छु नी भनेर त्यहि सानो ठाँउमा बसेँ त्यो सानो वोनटमा म लगाएत अन्य दुईजना पनि हुनुहुन्थ्यो । बस छुटेको केहि बेरमा घरमा फोन गरेर दाईलाई म घर आउदैछु भने ।

बस बसपार्कबाट हिडेलगत्तै उनको फोनमा रिङ्गटोन बज्न थालेको थियो । मलाई उनको फोन आएको देख्दा र उनले चलाएको बसको स्पिड देख्दा भित्रभित्रै डर लागीरहेको थियो । अझ बिचबिचमा उनले फोनमा बोलेका कुराहरुले त झन मेरो आङ्ग नै सिरिङ्ग हुन्थ्यो । उनी एकछिन मोवाईलमा रिङ्गटोन बजेन भने खल्तिबाट फोन झिकेर हेर्ने गर्दथेँ ।
अझ कति पटक त उनले आफ्ना सहचालकलाई भित्रैबाट कराएर फोन दिन्थेँ नजिकैको कसैलाई दिन नभनेर उनी आफै तानिन्थेँ त्यतातिर अनि उता ढोकाबाट उनका सहचालक तानिन्थेँ र फोन लैजान्थे र कुरा गर्थे । कति पटक त खै दाई म दिन्छु नी भनेर पनि भनेँ र पुर्याई पनि दिए । उनी एकदमै निश्चिन्त थिए, मलाई उनमा कुनै पनि उत्तरदायित्व छ जस्तो लागेन ।
हुन त त्यो समयमा उनललाई जति उत्तरदायित्व बहन गर्नुपर्ने त कसैलाई पनि थिएन होला किनकी उनले त्यतिधेरै यात्रुहरु र स्वयम् उनकै पनि अमुल्य जीवनलाई त्यो व्यस्त र अस्तव्यस्त सडकमा कुदाईरहेका थिए । तर पनि उनमा कुनै प्रकारको उत्तरदायित्व नदेख्दा म मनमनै दुखिरहेकी थिए ।

दाई कति धेरै फोन आएको तपाईको यसरी फोनमा कुरा गर्दा त ....मेरो कुरा सकिन नपाउदै उनले घरपरिवार साथिभाईले फोन गर्छन् उठानै पर्यो नी भन्दै फेरी अर्काे फोन उठाए । मलाई उनको त्यस्तो व्यवहार देखेर अचम्म लाग्यो । उनी फेरी चार पाँच मिनेटसम्म फोनमा गफिए । अनि मैले उनलाई दाई सवारी साधन चलाईरहदा फोनमा यसरी कुरा गर्दा त ध्यान अन्तै जादैन र भनेर सोधेँ तर उनले त्यसलाई सहज रुपमा लिएर हाँस्दै भने त्यस्तो त कहाँ हुन्छ र बहिनी त्यो त मैले ख्याल गरिहाल्छु नी ।
उनको त्यो उत्तर सुनेर अवाक भए किनकी उनले मलाई त्यो भन्नु भन्दा पहिले तिनचार पटक बसेको मान्छे हुत्तिने गरि झ्याप्प झ्याप्प ब्रेक लगाईसकेका थिए । मलाइ एकदम डर लागिरहेको थियो । फुपुको १३ औँ दिनको पुण्यतिथीमा घर जादैँ गरेकी म कतै घर नै नपुगीने हो जस्तो पनि लागिरहेको थियो । पहिले पहिले घर जाँदा यसरी कहिले नतर्सिएकी म यसपाली ठुलै भुईचालो नै जान्छ की जसरी तर्सिरहेकी थिए । 
राती करिव एघार बज्न लागेको थियो सुनवलमा बस खाना खान रोक्यो । मसँग कोही पनि थिएन एक्लै थिए । ओर्लेर नजिकैको सानो होटल भित्र पसे अनि चिसो खाए । मनमा लागेको थियो अव त एघार पनि बजिसक्यो कति नै फोन आउछ होला र ? त्यसैले पनि मनभित्र लुकेर बसेको डर कता कता हराएको थियो । केहिबेर पछि बस फेरी अगाडि बढ्यो ।
सबै जना मस्तले आफ्नो आफ्नो सिटमा टाउको अड्याएर मस्तले सुतिरहेका थिए । मेरो नजिकै बसेको बच्चा पनि स्वा स्वा गर्दै थियो । बसमा कहिले हिन्दी, कहिले लोकदोहोरी गित एकनासले बजिरहेको थियो । ती चालक दाई पनि आफ्नै तालमा बस कुदाईरहेका थिए । म उनकै सिटको एकछेउमा टाउको राखेर जवरजस्ति भएपनि निदाउने प्रयास गर्दै थिए । भोली विहानै घर पुग्ने वित्तिकै काममा जुट्नु पर्छ भन्ने थाहा थियो । अरु समयमा भए विहानभरी सुत्दा पनि हुन्थ्यो । तर अहिले त्यस्तो थिएन काम कै लागि घर जादैँ थिए । मलाई निद्राले एकदमै च्यापेको थियो ।
म निदाउनै लागेको थिए सायद, त्यत्तिकैमा फेरी मोवाईलको रिङ्गटोन बज्न थाल्यो । उनले मलाइ एकपटक हेरे अनि फेरी फोनमा गफिन थाले । मेरो निद्रा कता हरायो कता, नचाहेरै फेरी उनको फोनको गफ सुन्न बाध्य भएँ ।

No comments:

Post a Comment