Wednesday, October 3, 2012

कसरी भनुँ आमा


उफ फेरी पनि आमाको कचकच सुन्ने दिन सुरु हुन थाल्यो । विहान पनि फोनमा उही कुरा बेलुका पनि उही कुरा अव त फोनमा आमासँग कुरा गर्न पनि मन लाग्न छोडिसक्यो । हुन त मेरी आमा त्यति नबुझ्ने पनि हैन तर पनि आमाको मन न हो । म मात्रै त हो नी घरमा नभएको दिदीहरु त घर नजिकै हुनुहुन्छ । चाहानु भयो भने त घरमा कुरा मिलाएर आउन सकिहाल्नु हुन्छ तर मेरी आमालाई कान्छि छोरी(म) नै चाहिने । म नचाहेर वा घर जान मन नलागेर नगएको पनि त हैन नी । मलाई पनि त घर जान सबैसँग बसेर रमाईलो गर्न त मन लाग्छ नी तर के गर्नु धेरै बर्ष भैसक्यो घर जान नपाएको ।
नेपाली नारीहरुको महान चाड तिज नजिकीदै गर्दा मलाई सधैँ मेरी आमाको यादले एकदमै सताउने गर्दछ । एक्लै हुदा बसेर सम्झने गर्छु कति बर्ष भएछ म तिजमा घर नगएको भनेर । साच्ची म तिजमा घर नगएको त पाँच बर्ष पो भै सकेछ । मलाई पनि मेरी आमाले पकाएको तिजको दर खाने र घरमा सबैसँग रमाईलो गर्ने रहर नभएको पनि कहाँ हो र ? भाउजुलाई माईतीमा पठाउने अनि दिदीहरुलाई घरमा बोलाएर सबैजनासँगै बसेर रमाईलो गर्ने रहर त मलाई पनि छ नी । के गर्ने पढाई र कामले गर्दा मैले चाहेर पनि जान सक्दिन अनि हरेक बर्ष आमालाई आमा म सकेसम्म आउछु भन्दै सधैँ सधैँ टार्ने गर्छु ।
केही बर्ष अगाडी स्थानीय एफ. एम मा काम गर्दा मेरी आमा रेडियोमा मैले गरेको प्रत्यक्ष प्रसारण सुनेर रोएरै तिज मनाउनु भयो रे । दर खाने दिनमा फोन गरेर ठुलीआमाले नानी जसरी भएपनि आईजा आमाले दर पकाएर कुरेर बसेकी छिन भन्दा मेरा आँखाबाट पनि आँशु खसेका थिए । एकमनले त जान्छु पनि भने तर पनि जान पाईन । मलाई मिडियामा काम गर्दा चाडबाड पनि भन्न नपाईने अबस्था देखेर एकदमै नरमाईलो लाग्यो । एकछिन एक्लै रेडियो स्टेशन भन्दा केही परको डाडाँमा गएर बसे तर पनि काम त गर्नै पर्ने थियो । एकमनले सोँचे एकजना मेरी आमालाई एउटा तिज सुन्य भएर के भयो र धेरै आमा जसका छोरीहरु आएका छैनन् उनीहरुलाई त रमाईलो गर्नेछु भन्ने सोचेर फोन नै नगरी बस्छु अनि त आमाको गुनासो सुन्नु पर्दैन भनेर मोवाईलको स्वीच अफ गरेर काममा लागेँ,
बेलुका साढे छ बजेको समाचार पढेर स्टुडियोबाट निस्कीने वित्तिकै रेडियोको न्युजरुमको फोन बज्यो सोचेँ न्यूजकै लागि होला भनेर हतार हतार फोन उठाए तर ..तर फोन कुनै न्यूजको लागी नभएर मेरै लागि आएको रैछ । मेरी आमाको गुनासो सहितको । मेरी आमा फोनमा जसरी भए पनि आईजा घरमा फुपुहरु आउनु भएको छ ठुली दिदी आएकी छ । तँ नहुदा यहाँ केही गर्नै मन लागेन जसरी भए पनि आईजा तिन घण्टाको बाटो त हो नी भन्दै मेरी आमाले मलाई आउन कर गरिरहेकी थिईन तर मैले विदा नपाउने विहानै थाहा पाईसकेकी थिए मैले । मैले आमालाई जसरी पनि म आउन पाउदिन भन्नै पर्ने थियो तर..आमाको सुक्क सुक्कले मैले के भन्ने थाहै पाउन सकिन अनि मलाई कोठा जान राती भयो भनेर फोन राखेर हिडेँ ।
म आफैलाई पनि एकदमै नरमाईलो लागिरहेको थियो । तर के गर्ने काम पनि त गर्नै प¥यो । तिजको दिन विहानै उठेर एफ.एम स्टेशन गए । कोही पनि थिएन त्यहाँ अनि आफ्नो काम गर्न थाले मान्छे त्यहाँ भए पनि मन घरमै थियो अनि गुञ्जिएको थियो अघिल्लो दिनको मेरी आमाको आवाज कानमा । म आफुलाई सम्हाल्दै काम गरिरहेकी थिए । अनि तिजको चहलपहल सुरु हुन थाले पनि सुरु भयो मेरो स्टुडियोबाट श्रोता र संवाददातासँगको प्रत्यक्ष कुराकानी । म मेरी आमालाई नै लक्षित गरेर नै बोली रहेकी थिए ...तर मेरी आमा मेरो कुरा सुनेर घरमा बसेर रुदै थिईन । मलाई त्यो दिन अझैँ पनि राम्रोसँग याद छ मैले भनेका शब्दहरु । दिउसो १२ बजेदेखि सुरु भएको प्रत्यक्ष प्रशारण बेलुकी ६ बजे मात्रै सकियो । म रेडियोमा हाँसेर बोले पनि भित्र भित्रै रोईरहेकी थिए । किनकी घरमा मेरी आमा मलाई सम्झेर रुदै थिईन । आमाको रुवाईमा कुन सन्तान हाँस्न सक्छ होला र ...त्यसपछि मैले मेरी आमालाई कहिले पनि रुन दिने छैन भनेर प्रण गरे तर त्यो प्रण , प्रण मै सिमीत भयो ।
प्युठान हुदै म यहाँ आईपुगे तर तिजमा आमाले बनाएको दर खाने दिन कहिल्यै जुरेन । हिजो पनि मेरी आमा मलाई भन्दै थिईन अहिलेबाटै आउन छोडिस् पछि विहे भए पछि त के आउथिस् र ? तलाई त हाम्रो माया लाग्दैन रैछ ... आमा म कसरी भनु तपाईलाई म आउन पाउदिन भनेर । मलाई पनि रहर छ रातो सारीमा सजिएर हातै भरी रातो चुरा लगाएर छमछमी नाच्न अनि तपाईको मुहारमा कहिले नसकिने हाँसो ल्याउन । मलाई राम्रोसँग याद छ आमा तपाईले बनाएको मिठो दर खाएको अझ त्यसमा पनि तामाको तरकारी त म कहिले पनि विर्सन सक्दिन । एकदिन अबश्य तपाईले भने जस्तै हुने छ आमा । यसपालीको तिजमा म नभएर के भयो र अर्काे बर्ष त म जसरी पनि हाम्रो घरलाई उज्यालो पार्न र आगनीमा छमछमी नाच्न आउने छु । हुन त आमा तपाईलाई लाग्ला सधैँ यस्तै हो तेरो कुरा भनेर तर आमा अब अर्काे तिजमा तपाईले रेडियो सुनेर रुनु पर्ने छैन । म अबश्य पनि आउने छु ।

No comments:

Post a Comment